जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनका लागि चुनाव तोकेको छ। प्रतिनिधिसभा निर्वाचन होला कि नहोला भन्ने द्विविधा कायमै रहे पनि राजनीतिक दलहरू भने चुनावी तयारीमा जुटिसकेका छन्।
उच्च अदालत बुटवलको आदेशमा ४ पुसमा रुपन्देही जिल्ला कारागारबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोझै काठमाडौँ आएनन्। उनी आगामी निर्वाचनलाई लक्षित गरेर चितवनमा सभा र भेटघाटमा व्यस्त बने। ६ पुसमा चितवनको चौबिसकोटीमा आयोजित सभामा बोल्दै लामिछानेले भने, ‘म एउटा चुनाव जित्नका लागि मात्र राजनीतिमा आएको होइन, एउटा पुस्ताको भविष्यका लागि आएको हुँ।’
चितवनमा पनि जेन–जी समूहसँग भेटघाट गरेर आगामी निर्वाचनबारे छलफल गरेर काठमाडौँ आएका उनी तत्कालै जेन–जी आन्दोलनका घाइते र सहिद परिवार भेट्न सक्रिय रहे। सभापति लामिछाने मात्र होइन, रास्वपाको केन्द्रीय नेतृत्व नै निर्वाचनको तयारीमा जुटिसकेको छ। उपसभापति स्वर्णिम वाग्लेले चुनाव घोषणा भएपछि बाग्लुङ र म्याग्दीका विभिन्न ठाउँमा पुगेर निर्वाचनलक्षित सभालाई सम्बोधन गरेका छन्।
हुन पनि निर्वाचनको मिति घोषणापछि रास्वपाले सबैभन्दा बढी सक्रियता देखाएको हो। २१ मंसिरमा उम्मेदवारी आवेदन खुला गरेको रास्वपाले समानुपातिक उम्मेदवार बन्न चाहनेलाई २५ हजार रुपैयाँ शुल्क तोकेको थियो। आवेदन दिएका समानुपातिक आकांक्षीहरूसँग रास्वपाका प्रदेश कमिटीका नेताहरूले छलफल गरिसकेका छन्। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल भन्छिन्, “हामी चुनावमा होमिइसकेका छौँ। सभापति छुट्नुभएपछि चुनावी माहोल अझ बढेको छ।” धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दर्ता भएलगत्तै जिल्लामा संगठन विस्तार सुरु गरेको छ। जिल्लाहरूका सभामा साम्पाङ आगामी निर्वाचनका लागि मत माग्दै भाषण गरिरहेका छन्। हर्कको दल निर्वाचनमा जुटेकै बेला उनको पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार तामाङ पक्राउ परेका छन्। उनी पाँचथर बम विस्फोट घटनाका फरार अभियुक्त हुन्। त्यस्तै, अर्का उपाध्यक्ष मित्र परियारलाई सार्वजनिक कार्यक्रममा बोलेको विषयमा साम्पाङ आफैँले निलम्बन गरेका छन्। यसले निर्वाचनको तयारीमा सक्रिय बनिरहेको उनको दललाई असर गरेको छ। अहिले लावती र थेगिम दुवै जना उज्यालो नेपालको केन्द्रीय सदस्य छन्। त्यसबेला थेगिमलाई सहयोग गर्ने कैयौँ व्यक्ति घिसिङको दलमा जोडिएका छन्। विगतमा हर्क साम्पाङका निकट मानिएका व्यक्ति र समर्थक पनि उज्यालोमा प्रवेश गरेका छन्। पूर्वमा यी दुई दलको संगठन विस्तार र निर्वाचनलक्षित कार्यक्रममा प्रतिस्पर्धा देखिन्छ। उज्यालोले श्रम संस्कृतिलाई असर पुर्याएपछि साम्पाङले हरेकजसो भाषणमा कुलमानलाई ‘एमसीसी पास गराउने विदेशी दलाल’ को आरोप लगाउने गरेका छन्।
उज्यालोले भने हर्क मेयर रहेको धरानदेखि पाँचथरसम्म पार्टी कमिटी गठन गरिसकेको छ। पार्टीका केन्द्रीय सदस्य लावतीका अनुसार उज्यालोले संगठन विस्तार र चुनावी अभियान सँगसँगै अघि बढाइरहेको छ। हालसम्म तीन प्रदेश र एक दर्जनभन्दा बढी जिल्लामा संगठन निर्माण गरिसकेको उज्यालो पार्टीले चुनावमा उम्मेदवारीका लागि आह्वान गरेको छ। केन्द्रीय सदस्य लावती भन्छन्, “पूर्वदेखि सुदूरपश्चिमसम्म पार्टीका नेताहरू खटिनुभएको छ। चुनावका लागि आन्तरिक र बाह्य तयारीमा जुटेका छौँ।”पुराना दलहरू पनि चुनावी तयारीमा लागिरहेका छन्। तर, उनीहरूको सक्रियता नयाँ दलको तुलनामा सुस्त छ। जेन–जी आन्दोलनपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले पनि देशका विभिन्न ठाउँमा एकता सन्देश सभा आयोजना गरिसकेको छ। ४ पुसमा काठमाडौँमा आयोजित सन्देश सभामा बोल्दै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ फागुनमा निर्वाचन नभए देश दुर्घटनामा जाने बताए। उनले भने, ‘निर्वाचन सारियो भने हामी चुप बस्दैनौँ। यसलाई धम्की नठानियोस्।’
प्रचण्डको अभिव्यक्तिबाट पनि उनको दल चुनावी तयारीमा रहेको बुझ्न गाह्रो छैन। नेपाली कम्युनिस्ट पार्टीले देशभर गरेका सभामा पनि चुनावी सभाको झल्को दिन्छ। कांग्रेसले पनि निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ७ पुसमा आयोजित सर्वपक्षीय छलफलमा बोल्दै कांग्रेस सहमहामन्त्री महेन्द्र यादव आफ्नो पार्टी चुनावमा भाग लिने गरी अघि बढेको बताउँछन्। उनी भन्छन्, “नेपाली कांग्रेस आधिकारिक रूपमा केन्द्रीय समितिबाट निर्णय गरेर फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने तय गरिसकेका छौँ।” निर्वाचन आयोगमा १६ मंसिर २०८२ सम्म दर्ता भएका राजनीतिक दलको संख्या १४३ छ। तीमध्ये धेरै राजनीतिक दल ‘पर्ख र हेर’ को अवस्थामा रहे पनि अधिकांश दल चुनावमा सहभागी हुने तयारीमा छन्। राजनीतिक विश्लेषक प्रा.कृष्णप्रसाद पोखरेल भन्छन्, “नयाँ दलहरू चुनावप्रति धेरै उत्साहित देखिएका छन्। पुराना दलहरू अन्योलमै रहेकाले प्राविधिक रूपमा चुनावी तयारी थाले पनि उनीहरू चुनावप्रति उत्साहित देखिँदैनन्।”
