काठमाडौँ पोखराको गैराचौतारा नजिकको घुम्ती सडकमा सेदीतर्फबाट पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको भारतीय कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुईको उद्धार भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादव छन् भने अर्का पहिचान नखुलेका अन्दाजी ४५ वर्षका एक पुरुष छन् । यादवको पहिचान आधार कार्डका आधारमा खुलेको हो ।
दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराइबाट दुई जनालाई अचेत अवस्थामा फेला पारेको थियो । उनीहरूलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएलगत्तै चिकित्सकले एक जनालाई मृत घोषणा गरेका थिए ।
उद्धार गरिएका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवको अवस्था खतरामुक्त छ । कार अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको प्रहरीले जनाएको छ ।
तालमा खसेको कारलाई क्रेनको सहायताले बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदामको हाताभित्र राखिएको छ ।
