कोभिड महामारी, जेन–जी विद्रोह अनि इरान–अमेरिका तनाव । यस्तै यस्तै हैरानीका खबरपछि बल्ल बल्ल पर्यटन व्यवसाय तंग्रिन थालेकामा आशावादी थिए डोम हिमालय होटलका प्रबन्ध निर्देशक मन्दिप गिरी । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको मुख्य पर्यटकीय सिजनका लागि होटलको बुकिङ ९० प्रतिशतभन्दा बढी पुगिसकेको कुराले उनी उत्साहित पनि थिए । तर उनको उत्साह लामो समय टिकेन । भोटेकोशी विपत्तिपछिको एक सातामै बुकिङ रद्द हुन सुरु भयो । उनले सुनाए, ‘पछिल्ला एक सातामै २० प्रतिशत अनलाइन बुकिङ रद्द भइसक्यो ।’ मन्दिपको अनुभवले पनि पछिल्लो विपत्तिपछि नेपालको पर्यटन व्यवसाय फेरि प्रभावित हुने संकेत देखिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार समस्या पर्यटकहरू कहाँ जाँदैछन् भन्ने मात्र होइन । उनीहरूले के देखिरहेका छन् भन्ने पनि हो । भोटेकोशी विपत्तिले अन्तर्राष्ट्रिय ध्यान नेपालतर्फ खिचेको मात्रै छैन, पूरै नेपाल नै अशान्त छ भन्ने धारणा बढाएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म मनसुनपछिको आकाश खुलेसँगै पदयात्री पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढ्न थाल्छ । यी तीन महिनाले मात्रै वार्षिक पर्यटक आगमनको करिब ४० प्रतिशत हिस्सा ओगट्छ । पर्यटन व्यवसायीले यही हिस्सा भोटेकोशी विपत्तिपछि प्रभावित हुने देखेका छन् । गत अगस्टमा नेपालमा ८५ हजार ४४४ विदेशी पर्यटक आएका थिए । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३.६५ प्रतिशत कम हो । विपत्ति आएको महिनाको अन्तिम सातामा भने बुकिङ रद्द हुने क्रम ह्वात्तै बढेको छ ।
यही पृष्ठभूमिमा पर्यटनमन्त्री खड्कराज पौडेलले सामाजिक सञ्जालमार्फत एउटा आग्रह सार्वजनिक गरे, नेपाल अझै खुला छ ।‘हाम्रा हिमाली पदमार्ग र ट्रेकिङ रुटहरू अझै पनि तपाईंहरूलाई पर्खिरहेका छन्,’ पौडेलले फेसबुकमा भिडियो सन्देश जारी गर्दै भनेका छन् । उनले #NepalCalling ह्यासट्याग पनि प्रयोग गरेका छन् ।‘यसपटक तपाईं नेपाल आउनु भनेको केवल बिदा मनाउनु मात्र होइन । आकस्मिक बाढीको यो विनाशकारी विपत्तिसँग जुधिरहेको देशलाई ठूलो सहयोग गर्नु पनि हो ।’सरकारले मध्य–उत्तर नेपालमा विपत्तिबाट प्रभावित सीमित क्षेत्र र देशका बाँकी भागबीचको भिन्नता स्पष्ट पार्ने प्रयास गरिरहेका बेला पर्यटन उद्योग र नेपाली कूटनीतिक नियोगहरूले पनि यही सन्देश दोहोर्याइरहेका छन् ।परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकास साझेदारहरूलाई विपत्ति भौगोलिक रूपमा सीमित रहेको बताएका छन् । उनका अनुसार देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेका छन् । काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला छन् । यो सन्देश यात्रुका लागि मात्र नभई विदेशी सरकारहरूलाई लक्षित गरेर पनि दिइएको हो । परराष्ट्रमन्त्री खनालले कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई नेपाल खुला रहेको सन्देश प्रवाह गर्न आग्रह गरेका छन् । तर पर्यटन व्यवसायीहरू नेपाल सुरक्षित छ भनेर घोषणा गरेर मात्रै पर्याप्त नहुने बताउँछन् ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भने, ‘नेपाल सुरक्षित छ भन्ने सन्देश विदेशस्थित नेपाली दूतावास र नियोगमार्फत प्रवाह गर्नुपर्छ ।’ पर्यटन व्यवसायीहरूका अनुसार प्रभावित र अप्रभावित क्षेत्र छुट्याउन अन्तर्राष्ट्रिय पर्यटक आफैंले प्रयास गर्लान् भनेर पर्खनुभन्दा नेपालले सक्रिय रूपमा आफ्नो विश्वास पुनःस्थापित गर्नुपर्छ । किनकि नेपालको पर्यटन उद्योगसँग अर्को लामो धक्का सहन सक्ने अवस्था छैन । कोभिड महामारीको धक्का, जेन–जी विद्रोहपछिको अशान्ति र त्यसलगत्तै भएको इरानमाथिको अमेरिका–इजरायल युद्धले निम्त्याएका अप्ठ्याराहरू नेपाली पर्यटन क्षेत्रले सहिसकेको छ । गिरीले पछिल्लो घटनाले फेरि नयाँ अनिश्चितता सुरु गरेको टिप्पणी गरे ।
