काठमाढौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबूकमार्फत प्रधानमन्त्री शाहसँग कुराकानी गरी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेको जानकारी दिएका छन् ।
उनले विपद्को कठिन समयमा भारतका जनता नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूसँग ऐक्यबद्ध रहेको उल्लेख गरेका छन् । मोदीले नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको समेत बताएका छन् ।
उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतका सम्बन्धित टोलीले नेपालका निकायसँग निकट रूपमा समन्वय गरिरहेको जानकारी उनले दिएका छन् ।
नेपालमा रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट जनधनको क्षति भएको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीको प्रतिक्रिया सार्वजनिक भएको हो ।
