हिमालय एयरलाइन्सले काठमाडौँ–सांघाई सिधा उडान पुनः सुरु गर्न लागेको छ ।
एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म सोमबारदेखि नियमित उडान सञ्चालन गर्न लागेको हो ।
एयरलाइन्सका अनुसार सुरुमा यो रुटमा सातामा दुई उडान हुनेछ । काठमाडौँ–सांघाई उडान सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौँ उडान मंगलबार र शनिबार हुनेछ ।
सेप्टेम्बर २८ देखि अक्टोबर २३ सम्म काठमाडौँ–सांघाई उडान साँझ ६ः२५ बजे त्रिभुवन विमानस्थलबाट प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ । त्यस्तै, सेप्टेम्बर २९ देखि अक्टोबर २४ सम्म सांघाई–काठमाडौँ उडान स्थानीय समयअनुसार बिहान ३ बजे प्रस्थान गरी ७ ः १० बजे काठमाडौँ आइपुग्ने तालिका छ ।
कम्पनीसँग तीनवटा एयरबस ए३२०–२१४ र एउटा एयरबस ए३१९–११५ गरी चारवटा विमान छन्। कम्पनीले चीनसहित यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेशका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ ।
