October 7, 2026 7:36 pm
WhatsApp Image 2026-10-07 at 2.04.46 PM

चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी अगाडि बढाएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पुर्‍याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए।
‘भोटेकोसी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मतको काम पनि अघि बढाइएको छ’, प्रवक्ता न्यौपानेले भने, ‘आगामी ४र५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ। यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन।’
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ १० गतेको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरुद्ध छन्।
त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोले पूर्ण रूपमा बन्द छ।
नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को बौदिकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर असोज १४ गतेदेखि प्रभावित भएकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । यद्यपि सो सडकमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ।
यसैगरी, मनाङ जिल्लामा असोज १८ गते आएको बाढीका कारण प्रभावित बनेको बेँसीसहर–खाङ्सार सडक खण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बाँकी अवरुद्ध सडकहरू पनि चाँडोभन्दा चाँडो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र कार्य भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *