October 15, 2026 3:42 am
WhatsApp Image 2026-10-14 at 4.07.52 PM

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा दसैं लक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ ।
स्थानीय उत्पादनको बजारीकरण र पशुपालन प्रवर्द्धन गर्न गाउँपालिकाको प्रवर्द्धनमा कृषि तथा पशु हाटबजार सञ्चालक समितिले मंगलबारदेखि खुदीमा हाटबजार सञ्चालनमा ल्याएको हो ।
हाटबजारको सुरुवाती दिन गाउँपालिकाले ५६ जना गोरुपालक किसानलाई जनही ५ हजार रुपैयाँका दरले २ लाख ८० हजार रुपैयाँ नगद प्रोत्साहन दिएको छ ।
हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, खसीबोका, भेडा, कुखुरालगायत कृषि तथा पशुजन्य उपजको खरिदबिक्री भइरहेको छ । यसबाट किसानले आफ्ना उत्पादनको बजार पाउनुका साथै उपभोक्ताले स्थानीय उत्पादन सहज रुपमा खरिद गर्न सक्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
‘स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको बजारीकरण गर्दै उचित मूल्य पाउने वातावरण बनाउन हाटबजार सञ्चालन गरिएको हो’ उनले भने, ‘यसले किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्नुका साथै स्थानीय उत्पादनको खपत बढाउन सहयोग पुग्नेछ ।’
गाउँपालिकाले हाटबजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको ५ प्रतिशत र खसीबोका, भेडा तथा कुखुरालगायत पशुपन्छी बिक्री गर्ने किसानलाई ३ प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । बिक्री नभएका कृषि तथा पशुजन्य उपजका लागि समर्थन मूल्यको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषि तथा पशु हाटबजार सञ्चालक समितिका अध्यक्ष रवि थापाका अनुसार हाटबजारका अवसरमा गोरुपालक किसानलाई नगद प्रोत्साहन दिनुले परम्परागत पशुपालनको संरक्षण र प्रवर्द्धनमा सहयोग पुगेको दावी गरे । ‘कृषि र पशुपालनमा लागेका किसानलाई उत्पादन बिक्री गर्ने बजार र उचित मूल्यको सुनिश्चितता आवश्यक छ’ उनले भने, ‘हाटबजारसंगै प्रोत्साहन रकमको व्यवस्थाले किसानलाई पशुपालन र कृषि व्यवसायमा निरन्तर लाग्न हौसला मिलेको छ ।’
मर्स्याङ्दी गाउँपालिका–३, खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा मंगलबारदेखि सुरु भएको कृषि तथा पशु हाटबजार बिहीबारसम्म सञ्चालन हुनेछ । गाउँपालिकाले किसान, पशुपालक, व्यवसायी तथा उपभोक्तालाई हाटबजारमा सहभागी भई स्थानीय उत्पादनको खरिदबिक्रीमा सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *