October 15, 2026 3:47 pm
WhatsApp Image 2026-10-15 at 12.30.47 PM

असोज दोस्रो साताको अविरल वर्षाले कालीगण्डकी करिडोरअन्तर्गतका सडकमा ६ करोड ५१ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । सडकका विभिन्न खण्डमा पहिरो जाने, सडक भासिने, पर्खाल भत्किने र लेदो थुप्रिने समस्या देखिएको हो । बाढीले बगाएका तथा निर्माण हुन बाँकी पुल पुनर्निर्माण गर्न ७२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुंगा सडक) आयोजना, पाल्पाका प्रमुख शिवलाल दाहालले बताए ।
क्षतिको विवरणअनुसार सडकतर्फ तत्काल मर्मतसम्भार गर्न ६५ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको छ । सडकको स्थायी पुनर्निर्माणका लागि भने ६ करोड ५१ लाख रुपैयाँ लाग्ने आयोजना प्रमुख दाहालले बताए । वर्षाले पाल्पाको बगनासकाली गाउँपालिका–५, ६ र ७ क्षेत्रमा पर्ने राम्दी–रानीमहल सडक खण्डमा बढी क्षति पुर्‍याएको उनले बताए । उक्त खण्डमा सडकको पहुँच मार्ग बगाउनुका साथै रिटेनिङ वाल भत्किएको छ । विभिन्न स्थानमा पहिरो गएको छ । नालीमा लेदो थुप्रिएको छ । सडक भासिएको आयोजना प्रमुख दाहालले बताए। यहाँ सडकको क्षति तत्काल मर्मत गर्न ५७ लाख रुपैयाँ र स्थायी पुनर्निर्माण गर्न सात लाख रुपैयाँ आवश्यक पर्ने उल्लेख छ ।
राम्दी–रानीमहल सडक खण्डका विभिन्न स्थानमा पहिरो र सडक संरचनामा क्षति पुगेपछि यातायात सञ्चालनमा समस्या भएको आयोजनाले जनाएको छ । यस खण्डका केही क्षतिग्रस्त स्थानमा पछिल्लो वर्षापछि यातायात सञ्चालन हुन सकेको छैन । स्याङ्जाको गल्याङ नगरपालिका तथा गण्डकी प्रदेशको पर्वत क्षेत्रमा पर्ने कालीगण्डकी लोकमार्गअन्तर्गत सेतीवेणी–फलेवास र फलेवास–अर्मादी सडक खण्डमा पनि क्षति पुगेको आयोजनाले जनाएको छ । ग्याबियन पर्खाल भत्किने, सडकको कालोपत्रे भासिने, रिटेनिङ वालमा क्षति पुग्ने र विभिन्न स्थानमा पहिरो जाने समस्या देखिएको छ ।
सडकको क्षति स्थायी रूपमा पुनर्निर्माण गर्नुपर्ने रकम ६ करोड ५१ लाख रुपैयाँ प्रारम्भिक अनुमान गरिएको उनले बताए । तत्काल मर्मतसम्भारका लागि भने छुट्टै ६५ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने उनले बताए। कालीगण्डकी करिडोरको बलेवा–मालढुंगा सडक खण्डमा पनि क्षति पुगेको छ। कालीगण्डकी लोकमार्गको ५३ किलोमिटर मिर्मि–अर्मादी सडकका विभिन्न स्थानमा क्षति पुगेको छ । कतिपय स्थानमा सडक छियाछिया बनेर भासिएको आयोजनाले जनाएको छ । अधिकांश भागमा सडक निर्माणको ठेक्का प्रक्रियामा रहेको छ ।
वर्षापछि सडकसँगै पुल पूर्वाधारको समस्या पनि देखिएको छ। आयोजनाका अनुसार गुल्मीको रुद्रबेनी पुल ९बडीघाट खोला० मा सामान्य माटो तथा लेदो थुप्रिएको छ। पुलको सरसफाइ तथा तत्काल मर्मतका लागि २० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ । कालीगण्डकी करिडोरको रिडी–बेनी–बडहरे, डीङलगायत सडक खण्डमा निर्माण हुन बाँकी नौवटा पुल छन् । ती स्थानमा पानीको बहावले सडक बगाएको तथा पुल निर्माण हुन बाँकी रहेको छ । पुल निर्माणका लागि ७२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पुलतर्फ तत्काल मर्मतसम्भारका लागि दुई लाख २० हजार रुपैयाँ आवश्यक पर्ने आयोजना प्रमुख दाहालले बताए । यसमा रुद्रबेनी पुलको २० हजार रुपैयाँ र निर्माण हुन बाँकी पुलसँग सम्बन्धित तत्कालीन व्यवस्थापनका लागि दुई लाख रुपैयाँ लाग्ने उनले बताए । वर्षाले सडक तथा पुलमा पुर्‍याएको क्षतिको विवरण तयार पार्दै आयोजनाले तत्काल मर्मतसम्भार र स्थायी पुनर्निर्माणका लागि आवश्यक बजेटको आकलन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *