जापानमा जारी २०औं एशियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिहान वर्षाले खेल ढिला शुरु हुँदा १५ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । यो खेलमा सन्दीप जोराले अविजित ३२ बलमा ५७ तथा लोकेश बमले २२ बलमा ५२ रन बनाएका थिए । आसिफ शेखले २१ रन जोडे ।
जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान १–१ विकेट लिए । फेरि पानी परेपछि खेल हुन सकेन र म्याच रेफ्रीले खेल रद्दको निर्णय गरे ।
खेल रद्द भएपछि नेपाल र जापानले अंक बाँडिएसँगै नेपाल समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो। अब नेपालले श्रीलंकासँग सेप्टेम्बर २९ तारिखमा खेल्नेछ। जापान भने समूह चरणबाटै बाहिरियो ।
अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बनेको छ । अफगानिस्तानले भारतसँग खेल्नेछ ।
एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
एसियाबाट आइसिसीको शीर्ष चार वरीयता (भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश)ले सीधै क्वार्टरफाइनल खेल्दैछन्।
नेपालले १२ वर्षपछि टेस्ट राष्ट्र अफगानिस्तानमाथि जित निकाल्दै राम्रो सुरुआत गरेको थियो। दोस्रो खेलमा पनि नेपाली टोलीले जापानलाई १५० रनको बलियो चुनौती दिँदै दोस्रो जित निकाल्ने लक्ष्य राखेको थियो। तर, वर्षाकै १५ ओभरमा छोट्याइएको खेलमा जापानले इनिङ सुरुआत गर्न पाएन।
