September 26, 2026 9:47 pm
WhatsApp Image 2026-09-26 at 1.45.51 PM

अति भारी वर्षाको तेतावनीसँगै सम्भावित बाढीपहिरोको जोखिमबाट बच्न सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
पहाडी क्षेत्रका ७ जिल्लामा शनिबार बिहानदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने प्रणाली पश्चिमतर्फ सरेको र आज र भोलि उक्त क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ ।
कैलाली र कञ्चनपुरबाहेक अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरामा सम्बन्धित स्थानीय प्रशासनले शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा रोक लगाइएको सूचना जारी गरेका छन् ।
पहाडी सडकमा वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी नवराज कार्कीले बताए ।
सूचना थाहा नपाएर पहाडी जिल्लाका लागि छुटेका केही सवारी साधन बीच बाटोबाटै फर्काएका छन् । सुदूरपश्चिमका ९ वटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य जोखिम बढ्न सक्ने भएकाले पहाडी क्षेत्रमा यात्रा नगर्न र सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *