January 17, 2026 11:16 pm
image - 2026-01-15T155731.434

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर २७ वटा विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दै आएका छन्। यी एयरलाइन्सले वार्षिक रूपमा डेढ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हवाई सेवा दिइरहेका २६ विदेशी वायुसेवा कम्पनी (सन् २०२५ देखि उडान थालेको स्पाइसजेट एयरलाइन्सबाहेक)ले एक अर्ब १३ करोड ९४ लाख आठ हजार ७८९ अमेरिकी डलर आम्दानी गरेका छन्। यसलाई नेपाली रुपैयाँमा हिसाब गर्दा एक खर्ब ५३ अर्ब ८२ करोड एक लाख ८६ हजार ५१५ रुपैयाँ हुन्छ।

१ जनवरी २०२४ को अमेरिकी डलर एकको विनिमय दर १३३.४४ रुपैयाँ र वर्षको अन्तिम दिन ३१ डिसेम्बरमा १३७.१७ रुपैयाँ थियो। यसको औसत १३५ रुपैयाँलाई आधार मानेर विदेशी कम्पनीले अमेरिकी डलरमा गरेको आम्दानीलाई नेपाली रुपैयाँमा हिसाब गरिएको हो।

नेपालमा २७ विदेशी र तीन नेपाली गरी ३० वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गरिरहेका छन्। ती कम्पनीका विमानले विभिन्न देशका २८ गन्तव्यमा उडान गर्दै आएका छन्। दक्षिण एसियाका आठ, खाडी क्षेत्रमा सात, दक्षिण-पूर्वी एसियाका चार, पूर्वी एसियाका आठ र युरोपको एउटा गन्तव्यमा नेपालबाट उडान हुँदै आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। नेपालमा सेवा दिने विदेशी एयरलाइन्समध्ये सबैभन्दा ठूलो कमाइ गर्ने कम्पनी हो, कतार एयरवेज। यो एयरवेजले दोहा-काठमाडौँ-दोहाका लागि दैनिक चारवटा उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान तालिका स्वीकृत गराएको छ। दोहा-काठमाडौँ-दोहाको सीधा उडानमा कतार एयरवेजले सन् २०२४ मा पाँच लाख ९६ हजार ५० जना यात्रुलाई सेवा दिएर टिकट बिक्रीबाट मात्रै ३६ करोड ८८ लाख १७ हजार ६०० अमेरिकी डलर आम्दानी गरेको छ। उक्त मूल्यलाई एक अमेरिकी डलर बराबर १३५ रुपैयाँको विनिमय दरले हिसाब गर्दा ४९ अर्ब ७९ करोड तीन लाख ७६ हजार रुपैयाँ हुन्छ। त्यस वर्ष कतार एयरवेजले दोहा-काठमाडौँ-दोहाका लागि एक हजार १९९ उडान गरेको थियो।

कतार एयरवेजका यात्रुमा नेपालबाट वैदेशिक रोजगारीमा जाने र फर्कने नेपाली नै सबैभन्दा बढी हुन्छन्। भारतका पनि चार विमान कम्पनीले नेपालबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन्। एयर इन्डिया, इन्डिगो एभिएसन, एयर इन्डिया एक्सप्रेस र स्पाइसजेटले नेपालमा हवाई सेवा दिइरहेको प्राधिकरणले जनाएको छ। नेपालमा सेवा दिइरहेका भारतीय विमान कम्पनीमध्ये एयर इन्डियाले सबैभन्दा ठूलो कारोबार गर्छ। हवाई उडानबाट भारत र नेपाललाई जोडिरहेका भारतीय विमान कम्पनीहरूले सन् २०२४ मा १० अर्ब १२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्। नेपालका नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले विभिन्न विदेशी गन्तव्यमा हवाई सेवा दिइरहेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले १० विदेशी गन्तव्यमा उडान गरिरहेको छ। निजी क्षेत्रको हिमालय एयरलाइन्सले ११ विदेशी गन्तव्यमा उडान गरिरहेको छ। आन्तरिक उडानमा वर्चस्व रहेको बुद्ध एयरले भने काठमाडौँ-कोलकाता रुटमा उडान गर्दै आएको छ। पोखरा र भैरहवा जान अरुचि

विदेशी एयरलाइन्स कम्पनीहरूले काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट उडान-अवतरण गर्दा प्रशस्त आम्दानी गरिरहेका छन्, तर उनीहरूले नेपालकै अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्न रुचि देखाएका छैनन्।

नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब ४९ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिन्छन्। सन् २०२५ को ११ महिनामा (जनवरीदेखि नोभेम्बरसम्म) ४१ लाख ११ हजार ९८१ यात्रुले हवाई सेवा लिएका थिए। सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई सेवा लिने यात्रुको संख्या ४९ लाख २८ हजार ९२५ थियो। अर्कातर्फ, छिमेकी देश भारतले पनि पोखरा र भैरहवाबाट नियमित उडान होस् भन्ने नचाहेको उनको भनाइ छ। “विदेशी एयरलाइन्सले गोरखपुरबाट सीधै भैरहवा वा पोखराका लागि जान सक्ने गरी भारतले हवाई रुट दिएको छैन। उनीहरू गोरखपुरबाट सिमरा आएर पोखरा वा भैरहवा जानुपर्छ। त्यसो गर्दा करिब २० देखि २५ मिनेट बढी उडान गर्नुपर्ने भएकाले एयरलाइन्सको खर्च धेरै बढ्छ,” क्षेत्री भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *