काठमाण्डु भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले नेपाल र भारतमा भइरहेको जेनजी आन्दोलन एउटै शक्तिले गराइ रहेकाले दुवै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवसँगको भेटघाटमा अध्यक्ष नवीनले सो कुरा बताएका हुन् । भेटघाटमा अध्यक्ष नवीनले नेपाल–भारतको राजनीतिक, सामाजिक, आर्थिक लगायतका समस्या एउटै भएकोले त्यसलाई दुवै देश मिलेर समाधान गर्नुपर्ने धारणा राखेको छलफलमा सहभागी एक नेताले बताए ।
उनले भनेका छन्, ‘नेपालमा भएको जेनजी आन्दोलन र हाल भारतमा जारी आन्दोलन एउटै शक्तिले गराइरहेका छन्, यसको समाधानका लागि दुवै देशबिच सहकार्य हुनुपर्छ ।’ तर अध्यक्ष नवीनले त्यो कुन शक्ति हो भन्ने बारेमा खुलाएका छैनन् ।
भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, दुवै देशको समसामयिक राजनीतिक तथा सामाजिक अवस्था र साझा सनातन सभ्यताको ऐतिहासिक महत्वबारे छलफल भएको बताइएको छ । नेपाल र भारतबिच परापूर्वकालदेखि कायम रहँदै आएको धार्मिक, सांस्कृतिक, सामाजिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ ।
राष्ट्रिय एकता दलका अध्यक्ष यादवले आगामी मङ्सिर ४ गतेदेखि नेपालमा ‘हिन्दु सुरक्षा र हिन्दु राष्ट्र’ मुख्य एजेन्डासहित मेची–महाकाली पदयात्रा सञ्चालन गर्ने तयारी गरिरहेका छन् । त्यसको तयारीका लागि भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट र संवादलाई उनले अघि बढाएका छन् ।
नेपाल र भारतबिच धार्मिक तथा सांस्कृतिक सम्बन्धका अतिरिक्त खुला सीमा, पारिवारिक सम्बन्ध, व्यापार, पर्यटन र जनस्तरको आवागमन जस्ता विषयले पनि उनले विशेष महत्त्व दिँदै आएका छन् । यस सन्दर्भमा दुवै देश बिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा भएको सो भेटलाई राजनीतिक तथा सांस्कृतिक संवादका रूपमा हेरिएको बताइएको छ ।
