November 3, 2026 2:57 pm
WhatsApp Image 2026-11-03 at 11.06.28 AM

जाजरकोटको भेरी नगरपालिका–२ र ३ का बाढीपहिरो प्रभावित करिब ३०० विद्यार्थीलाई सहज फाउन्डेसनले शैक्षिक सामग्री सहयोग गरेको छ ।
गत साउन ३० गतेको बाढीपहिरोबाट प्रभावित विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले संस्थाले सोमबार विभिन्न सामुदायिक विद्यालयमा स्टेशनरी सामग्री वितरण गरेको हो ।
फाउन्डेसनले भेरी नगरपालिका–२ रिसाङ र वडा नं. ३ स्याँलाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, किताबलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो ।
भेरी नगरपालिकाकासँग समन्वय गरी करिब ३०० विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको संस्थाका अध्यक्ष हरिकृष्ण बाँस्कोटाले जानकारी दिए ।
उनका अनुसार विष्णु प्राथमिक विद्यालय, नरज्योति प्राथमिक विद्यालय र त्रिभुवन आधारभूत विद्यालयका विद्यार्थीलाई आवश्यक स्टेशनरी सामग्री सहयोग गरिएको हो । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा जाजरकोटका संघीय सांसद खड्कबहादुर बुढा, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी, सम्बन्धित वडाका अध्यक्षलगायत सहभागी थिए ।
कार्यक्रममा सांसद बुढाले विपद्‌बाट प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सहयोग गरेको भन्दै सहज फाउन्डेसनप्रति आभार व्यक्त गरे । सरकारले गर्नुपर्ने काम सामाजिक संस्थाले गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।
फाउन्डेसनले सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले आगामी दिनमा पनि जाजरकोटका विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाको स्वास्थ्य सेवा र शैक्षिक अवसर विस्तारका लागि स्थानीय समुदाय तथा सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *