काठमाडौँ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका स्वास्थ्य व्यवसायी हुन्। उनले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक र राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका छन्।
हाल श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत छन्।
यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ंको सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
स्वस्थ्य अनुसन्धान,चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. जोशीसँग परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभव पनि छ।
डा. जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस ९न्याम्स०बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन्। उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गरेका छन्।
उनले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। त्यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट, गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा काम गरेका छन्।
