काठमाडौँ भोटेकोसी नदीको बाढीका कारण स्वास्थ्य सेवा प्रभावित भए पनि बालबालिकाको नियमित खोप सेवा निरन्तर सञ्चालन भइरहेको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयरस्वास्थ्य निर्देशनालय र स्थानीय तहको समन्वयमा आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका प्रभावित क्षेत्रमा नियमित खोप सेवा सञ्चालन भइरहेको छ।
निर्धारित खोप तालिकाअनुसार प्रत्येक महिनाको २०, २१ र २२ गते साबिककै खोप केन्द्रबाट सेवा दिइँदैछ। बाढीबाट प्रभावित टिमुरे र स्याफ्रुबेसी स्वास्थ्य चौकीबाहेक अन्य स्वास्थ्य संस्थाबाट नियमित सेवा सञ्चालन भइरहेको छ।
यातायात तथा आवतजावतमा कठिनाइ र केही स्वास्थ्य संस्थामा क्षति पुगे पनि स्वास्थ्यकर्मी तथा स्थानीय तहको निरन्तर प्रयासबाट खोप सेवा नरोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कठिन परिस्थितिमा पनि खोप सेवा निरन्तर राख्न खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय तह तथा सहयोगी निकायहरूप्रति मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ।
