
एजेन्सी: पूर्वराजा ज्ञानेन्द्र शाह ७९ औँ वर्षमा प्रवेश गरेका छन् । आज निर्मल निवासमा उनको जन्मदिन धूमधामले मनाउने राजावादीहरूको तयारी छ । शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा भएको थियो । राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुई पटक राजा भए ।
पहिलो पटक बाल्यकालमा विसं २००७ सालमा राजा बनेका थिए, जतिबेला उनको उमेर साढे तीन वर्ष मात्र थियो । हजुरबुबा राजा त्रिभुवन छोरा महेन्द्र र अन्य शाही परिवारका सदस्यहरूलाई लिएर भारतमा शरण लिन गएपछि तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई गद्दीमा बसालिदिएका थिए ।
https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fnepalpressnp%2Fvideos%2F1075546567325215%2F&show_text=true&width=560&t=0
वि.सं. २००७ को दिल्ली सम्झौतापछि राणा शासनको अन्त्य भयो र राजा त्रिभुवन नेपाल फर्केर पुनः राजगद्दी सम्हाले । यसरी, ज्ञानेन्द्रको पहिलो शासन छोटो समय (वि.सं. २००७ कात्तिक २२ देखि फागुन ७ सम्म) का लागि मात्र रह्यो ।
दोस्रो पटकको गद्दी आरोहण झनै अप्रत्याशित थियो । २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको परिवारै सखाप भएपछि फेरि ज्ञानेन्द्रले नै गद्दी सम्हाल्नुपर्यो । सुरुमा युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो, तर उनको मृत्यु भएपछि ज्ञानेन्द्र राजा बने ।