September 17, 2026 6:16 pm
WhatsApp Image 2026-09-17 at 1.56.47 PM

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिमध्येबाट ‘सलह’लाई पुरस्कारका लागि छनोट गरेको हो । प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट मूल्यांकन समितिले ‘सलह’लाई चयन गरेको प्रतिष्ठानले जनाएको छ ।
‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको प्रतिष्ठानको भनाइ छ । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैलीलाई कृतिका प्रमुख विशेषता मानिएको छ । व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै सीमान्त जीवन र नारी अस्तित्वका प्रश्नलाई प्रभावशाली रूपमा प्रस्तुत गरेकाले ‘सलह’ छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी, नेपाली साहित्यमा पाँच दशकदेखि सक्रिय साहित्यकार कृष्ण धरावासीलाई यस वर्षको पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय भएको छ । ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासीले झन्डै दुई दर्जन ग्रन्थको सम्पादनसमेत गरेका छन् ।
धरावासीले विशेषगरी आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद तथा इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक ढाँचामार्फत प्रस्तुत गर्दै आएका छन् ।
त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा। डा। जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन् ।
‘यदुनाथ खनालः जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये रहेको प्रतिष्ठानले जनाएको छ । संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान पुर्‍याएको प्रतिष्ठानको भनाइ छ ।
तीनवटै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *