September 19, 2026 3:15 pm
WhatsApp Image 2026-09-19 at 1.24.50 PM

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया औपचारिक रुपमा सुरु भएको छ । महाधिवेशन अन्तर्गत वडा अधिवेशन शनिबारबाट सुरु भएको हो।
पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै शनिबारदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो।
गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
पार्टीको अधिवेशनमा वडाक्षेत्रभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन्। उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ।
शनिबार पार्टी सभापति गगन कुमार थापाले काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाण्डु महानगर २० नम्बर वडाको अधिवेशन उद्घाटन गरे ।
सो क्रममा सभापति थापाले पार्टीको महाधिवेशनमा सबैलाई समेट्न आफूले अधिकतम प्रयास गरेको बताए । पार्टीको विवाद समाधानका लागि अन्तिम क्षणसम्म प्रयास जारी रहने उल्लेख गर्दै सबै पक्षका शीर्ष नेताहरूसँग भेटघाट र छलफल गरिरहेको उनको भनाइ छ।
थापाले राजनीतिक दलका विषयहरू राजनीतिक रूपमै टुंगिनुपर्ने भएपनि विषय अदालत पुगेको र पटक–पटकको निर्णयले महाधिवेशन अगाडि बढाउन कुनै बाधा नरहेको स्पष्ट पारे ।
असोज १६ गते तोकिएको अधिवेशन नगरिएमा फेरि अदालत जाने अवस्था आउन सक्ने भएकाले अधिवेशन सार्नु उपयुक्त नहुन उनले बताए। उनले वडा तहको अधिवेशनमा छुट्न पुगेका वा सहभागी हुन नपाएका नेता–कार्यकर्ताहरूलाई विधानको व्यवस्थाअनुसार महाधिवेशन प्रक्रियामा समेट्न सकिने बाटो खुला रहेको धारणा राखे।
गाउँ–नगर–उपमहानगररमहानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *