नेपाल र भारतका सुरक्षा अधिकारीहरूको उच्चस्तरीय समन्वय बैठक बुधबारदेखि काठमाडौमा हुँदैछ।
यो बैठकमा दुई देशबीचको खुला सिमानाबाट भइरहेका आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध तस्करी रोकथाम, मानव बेचबिखन नियन्त्रण र तेस्रो मुलुकका नागरिकको आवागमन निगरानीलगायतबारेमा छलफल हुने एजेन्डा छ।
यो बैठक नेपालबाट सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को आयोजनामा हुन लागेको हो । १०औँ नेपाल–भारत वार्षिक समन्वय बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारीहरू सामेल हुन मंगलबार काठमाडौँ आइपुग्दैछन् ।
बैठकमा सहभागी हुन एसएसबीका महानिर्देशक सञ्जय सिंघल नेतृत्वको टोली नेपाल आइपुग्दै छ। नेपालबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसहितका उच्च अधिकारीहरू बैठकमा सहभागी हुँदैछन्।
बैठकमा दुवै देशका सुरक्षा निकायका अधिकारीसँगै गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायका प्रतिनिधिहरू पनि बैठकमा सहभागी हुने भएका छन्।
यस बैठकमा नेपाल(भारत एक हजार ७५१ किलोमिटर लामो खुला सीमाको व्यवस्थापन प्रभावकारी बनाउने मुख्य एजेन्डा छ। त्यसैगरि सीमापार अपराध नियन्त्रण, सूचना आदानप्रदान, संयुक्त सीमा गस्ती, सीमा क्षेत्रका समस्या समाधान र विगतका सहमति कार्यान्वयनको अवस्थाबारे समीक्षा हुनेछ।
नेपाल–भारत खुला सीमाको दुवै देशले लाभ उठाउँदै आएका छन् । तर खुला सीमा दुरुपयोग गरी आपराधिक गतिविधि पनि हुने गरेका छन्। खुला सीमाबाट मानव बेचबिखन, लागुऔषध ओसारपसार, भन्सार छली, चोरी–निकासी तथा अवैध व्यापार दुवै देशका चुनौती हुन्।
अर्कातिर नेपालले भारतबाट हुने लागुऔषध तस्करी नियन्त्रणका लागि प्रभावकारी सहयोग र सूचना आदानप्रदानको सवाल उठाउने तयारी गरेको छ। सीमापारबाट आउने लागुऔषध नियन्त्रणमा भारतीय पक्षसँग थप सहयोग चाहेको छ।
उता भारतले आतंकवादसहित अवैध घुसपैठ, सीमावर्ती क्षेत्रको अनधिकृत आवातजावत र नेपालबाट हुने मदिराको अवैध कारोबारलाई मुख्य एजेन्डा बनाउने तयारी गरेको छ। गम्भीर अपराधका घटनामा संलग्नहरू दुवै देशतिर लुक्ने समस्यालाई पनि बैठकको एजेन्डा बनाउने तयारी छ।
बैठकमा तेस्रो मुलुकका नागरिकको सीमापार आवागमनको निगरानी पनि एजेन्डा बनाइनेछ। यसअघिको बैठकमा दुवै देशले सीमावर्ती क्षेत्रमा तेस्रो मुलुकका नागरिकको आवातजावतमा निगरानी बढाउन सहमति जुटाएका थिए ।
सीमावर्ती क्षेत्रमा यसअघि खासगरि भारतीय र पाकिस्तानी नागरिको आवगमनलाई भारतले चासोपूर्वक हेर्ने गरेको छ। यता नेपालले म्यानमार र बंगलादेशबाट आउने रोहिंग्यासहितको आवागमन रोक्नुपर्ने बताउँदै आएको छ।
यस बैठकमा सीमाक्षेत्रमा दुवै देशका सुरक्षा निकायबीचको समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी छ। संयुक्त सीमा गस्ती, सीमा स्तम्भ मर्मत, सीमापार अपराध रोकथाम, सूचनाको प्रभावकारी आदानप्रदान र दुवै सुरक्षा निकायको अन्तरसमन्वयबारे पनि छलफल हुँदैछ।
बैठकमा सीमा क्षेत्रमा विपद् पूर्वतयारी तथा प्रतिकार्य, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धि, तालिम सहयोग र अवैध पदार्थको ओसारपसार नियन्त्रणका उपायबारे पनि छलफल हुने हलचोकले उल्लेख गरेको छ।
नेपाल र भारतबीच सन् २०१२ देखि वार्षिक समन्वय बैठक हुँदै आएको छ। कोभिड–१९ महामारीलगायत कारणले प्रभावित समयबाहेक यस्तो बैठक नियमित हुँदै आएको छ। गत वर्ष नवौँ समन्वयात्मक बैठक भारतको नयाँ दिल्लीमा बसेको थियो।
उक्त बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, चोरी–निकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना आदानप्रदान, संयुक्त सीमा गस्ती र सुरक्षा तालिममा सहयोगलगायबारे कुरा भएको थियो ।
अघिल्ला बैठकका सहमति कार्यान्वयन हुन नसकेको विषय पनि यस बैठकको एजेन्डा बन्दैछ। विगतका सहमतिको समीक्षासहित कार्यान्वयन प्रभावकारी बनाउने उपाय दुवै देशका अधिकारीले खोज्ने भएका छन्।
बुधबारदेखि तीन दिनसम्म बस्न लागेको यस बैठकले सीमा सुरक्षाका चुनौतीको समीक्षासहित सहयोग विस्तार, सूचना आदानप्रदान र विगतका सहमति कार्यान्वयनबारे नयाँ रणनीति तय गर्ने अपेक्षा छ।
