September 16, 2025 8:30 pm
Capture


एजेन्सी: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन जी आन्दोलनका क्रममा घटेका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

जेन जी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रित आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन्।

उनले भनेका छन्, ‘घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग पनि गर्दछु । आन्दोलनमा भएको अस्वाभाविक र अत्यधिक बल प्रयोग र त्यसकाणले भएको जनधनको ठुलो क्षति, सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्न । यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्छ ।’

भविष्यमा यस्ता घटना नदोहोरिने वातावरण सुनिश्चित गर्न लाग्न सबैलाई आह्वान गरेका छन्।

उनले भनेका छन्, ‘यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन, समाजमा शान्ति, अमनचयन र सामाजिक सद्भावका लागि सबैको पहल÷प्रयत्न आवश्यक छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक , शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु ।’

विगतबाट शिक्षा लिँदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा सबै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *