‘खाना खानुभयो?’
धेरै नेपालीले एकअर्कालाई सोध्ने यो प्रश्नले हाम्रो जीवनमा भातको महत्त्व देखाउँछ। आम भनाइ नै छ– मम, पिज्जा, बर्गर, पास्ता जे जे खाए पनि अन्तिममा नेपालीलाई भात नै चाहिन्छ।
भातप्रतिको आदत र आसक्ति घरभित्र मात्रै सीमित छैन। दाल, भात, तरकारी रेस्टुराँ गएर खाने चलन पनि बढ्दो छ। रेस्टुराँ संस्कृति बढिरहेको सहरी भेगमा सात समुद्रपारिसम्मका खाना खुवाउने ठाउँ उपलब्ध छन्। यही भीडमा नेपाली खानाको पर्यायका रूपमा स्थापित भइसकेको नाम पनि छ, थकाली खाना।
खाना व्यवसायमा वर्चस्व स्थापित गर्ने यसको स्रोत मुस्ताङ थाकखोलाका थकाली समुदायसँग जोडिन्छ। थकाली बोलीमा थासाङ भनिने थाकखोलामा टुकुचेदेखि तल र घाँसादेखि माथिका १३ वटा गाउँ पर्छन्।
सन् १९९७ मा दरबारमार्गमा एउटै परिवारका रेखा भट्टचन, ज्योतिमान शेरचन, इन्दिरा गौचन, विन्दु शाक्य र अरुणा गौचनले रेस्टुराँको नाम जुराउने बेला आफ्नो पुर्ख्यौली थलो टुकुचेको नाम प्रयोग गरेका थिए।
१५ वर्षअघि झम्सिखेलमा रेस्टुराँ व्यवसाय सुरु गर्ने बेला मुस्ताङ, कोबाङकी शर्मिला तुलाचनले पनि आफ्नै थातथलो चिनाउने नाम रोजिन्, थाकखोला थकाली। १५ वर्ष जापानमा बिताएका अर्जुन शेरचन जापान छँदै हस्पिटालिटी व्यवसायमा लागेका थिए। त्यहाँ सुरुमा अरूको रेस्टुराँमा काम गरेका उनी आफैँ रेस्टुराँसमेत चलाएको बताउँछन्। नेपाल फर्केपछि दुई दशकअघि साथीहरूसँग मिलेर गामबेसी थकाली किचन खोले। ठमेलमा बगान थकाली सञ्चालन गरिरहेका उनी आगामी फागुनदेखि बालुवाटारमा नयाँ शाखा विस्तार गर्दै छन्। यसमा मन्त्र थकाली, जिम्बु थकाली, दाउरा थकालीलगायत धेरै नाम थप्न सकिन्छ। पुराना शाखा विस्तारसँगै नयाँ थकाली रेस्टुराँ थपिने क्रम पनि जारी छ। झम्सिखेलको मार्सी थकाली, पाटनको घाँसा थकाली आदि यही वर्ष थपिएका हुन्। परम्परागत शैलीको व्यवसायलाई आधुनिक स्वरूपमा ढाल्नेमध्येकी एक हुन्, उषा शेरचन। मुस्ताङ, टुकुचेकी उषाले आमा रत्न तुलाचनको साथ पाएर १८ वर्षकै उमेरमा उषा लज खोलेकी थिइन्। मुस्ताङबाट पोखरा बसाइँ सरेपछि उनले चार वर्ष भ्याली लज चलाइन्। त्यसपछि मोनालिसा थकाली सुरु गरिन्। तीन दशकदेखि पोखरामा सञ्चालन भइरहेको मोनालिसा थकालीको शाखा चार वर्षयता काठमाडौँको भाटभटेनीमा सञ्चालनमा छ। धेरैले रुचाउने थकाली दाल पकाउने विधि लामो छ। सुरुमा सिठी लगाएर, त्यसपछि कराहीमा बेसार घिउ राखेर पकाइने दाल फलामको भाँडामा घोटेर हरियो रंग निकालिन्छ। त्यसलाई कस्तो स्वाद दिने त्यहीअनुसार जिम्बु, अदुवा, लसुन वा टिम्मुरले झानिन्छ।
“हामी थकालीको हरेक कुरा पकाउने आफ्नै शैली छ। जे पकाए पनि एकदमै मिहिनेत गर्छौं,” अर्जुन थप्छन्, “खानाको स्वाद आँखा, नाक हुँदै मुखमा पर्ने हो। त्यसैले प्रस्तुतिमा पनि उत्तिकै ध्यान दिन्छौँ।”
उनी पनि कम मसला राख्ने र घरेलु मसलाको प्रयोगका कारण थकाली स्वाद भिन्न हुने मत राख्छन्।
मान्छेहरू आफ्ना अग्रजलाई आदर्शीकरण गर्छन् र उनीहरूका कुरा पछ्याउँछन्। थकाली महिलाहरूले हजुरआमा, आमाहरूको मनैबाट पकाउने कला, सरसफाइ, अतिथि सत्कार र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता राख्ने कुरा अनुसरण गरे। पुस्तान्तरणको यो असर ग्राहकहरूमा परिरहेको छ। खाना र सेवा मन परे एकपटक आएका ग्राहक फर्केर आउने भएकैले थकाली रेस्टुराँहरूको संख्या बढिरहेको हो। थकाली खानाले पाको उमेरका मानिसदेखि जेन-जीसम्मलाई आकर्षित गरेको छ।
यस आकर्षणको बजार देखेर रेस्टुराँमा थकाली शब्द जोड्ने बढिरहेका छन्। कतिले आफू थकाली नभए पनि हस्पिटालिटी व्यवसायमा भएकाले सिकेर बुझेर यस क्षेत्रमा हात हालेको भेटिन्छ। तिनैमध्ये एक हुन्, वसन्त लामा। करिब नौ वर्ष कुकको काम गरेका उनले दुबईमा समेत नौ महिना कुकको अनुभव बटुले। नेपाली फ्युजन खानाको प्रवर्द्धनमा लागेका उनले बालुवाटारमा गत फागुनदेखि सञ्चालनमा ल्याएको मेलुङ थकालीको नाममा समेत फ्युजन छ। दोलखा, मेलुङका लामाले थकालीहरूको आफ्नै गाउँठाउँको नाम प्रयोग गर्ने अभ्यासजसरी नै आफ्नो गाउँपालिकाको नाममा थकाली जोडेका हुन्। उनी भन्छन्, “थकाली भनेपछि मात्रै यहाँ राम्रो खाना पाइन्छ भन्ने नेपाली मनोविज्ञान नै बनिसक्यो। थकाली नाम जोड्दा प्रचारप्रसारमा सहयोग हुने भएकाले मैले पनि प्रयोग गरेँ।” यसको अर्थ हो, थकाली खानाको स्वादले साना-ठूला सबै वर्गका मानिसलाई आकर्षित गरेकै कारण यो नाम लोभलाग्दो ब्रान्ड बनेको हो।
भात खान कुनै मौसम चाहिँदैन, यो सदाबहार चल्ने व्यवसाय भएकाले थकाली खाना भविष्यमा अझै विस्तार हुने अनुमान गर्न सकिन्छ। अर्जुन भन्छन्, “नेपाल घुम्न आउने हरेक पर्यटकको सूचीमा थकाली खाना चाख्ने कुरा परेकै हुन्छ। नेपालीलाई पनि हप्ताको कम्तीमा पाँच दिन भात नै चाहिन्छ। त्यसैले थकाली खाना अझै फैलिने निश्चित छ।”
