काठमाडौँ बोलबम यात्राका लागि भारतको झारखण्डस्थित बाबाधाम गएका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार ना ६ ख १५५४ नम्बरको बस झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो।
दुर्घटनामा गरुडा नगरपालिका–६ पोठियाहीका ६० वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन्। दुर्घटनाको खबर पाएलगत्तै मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरेर घटनास्थल भारततर्फ गएका छन्।
बसमा करिब ४५ जना बोलबम तीर्थयात्री सवार थियो । उनीहरू बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीरतर्फ जाने क्रममा सतगावाँ क्षेत्रमा दुर्घटनामा परेको हो ।
मालवाहक ट्रकको भारतीय नम्बर भने खुल्न सकेको छैन। ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाको खबर पाएलगत्तै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री रौतहटको गरुडा–६ पोठियाहीका बासिन्दा छन् । घटनाको खबरसँगै पोठियाही गाउँ शोकमा डुबेको छ। मृतकका परिवार तथा आफन्तहरू घटनाबारे थप जानकारी लिन र घाइतेको अवस्था बुझ्न भारततर्फ गएका छन्।
