December 29, 2025 8:32 pm
image - 2025-12-27T140430.478

झापा, चन्द्रगढीमा हुर्किएकी रचना रिमाल माटोको गारो हालेको आफ्नो पुरानो घर हेर्दै सोच्थिन्— छरछिमेकका सबै विदेश गएर पक्की घर बनाइरहेका छन्। म पनि विदेश गएर त्यस्तै घर बनाउँछु।

तर, रिमाललाई पक्की घर बनाउन विदेश जानै परेन। ‘फोटो फिरेममा’ गीतबाट चर्चा कमाएकी उनी संगीतमा लागेको चार वर्षमै पक्की घर बनाउन सफल भइन्। ‘सानैदेखि बाबा-ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन, तर सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ,’ सामाजिक सञ्जालमै खुसी साट्दै उनले लेखेकी थिइन्। बोल माया सार्वजनिक भएको चार वर्ष नबित्दै सपुतले ४९ लाख रुपैयाँको गाडी किनेपछि सामाजिक सञ्जालमा लेखे, ‘यो गाडी नै मेरो पहिलो नयाँ सवारी साधन हो। गाडी देखाउनका लागि किनेको होइन। मजस्तै निम्न तहबाट उठेर पनि सफलता पाउन सकिन्छ भन्ने प्रेरणा मिलोस् भन्न चाहन्छु।’ त्यसबेला उनले भनेका थिए, ‘झन्डै नौ वर्षअघि करिअर बनाउने सपना बोकेर काठमाडौँ आएको थिएँ। बागलुङबाट नाइट बसको सिट नम्बर ११ मा बसेर काठमाडौँ आएको मलाई अझै याद छ। त्यो बेला मलाई सेलिब्रेटीहरूले मात्र राम्रो गाडी चढ्छन् भन्ने लाग्थ्यो। बाटोमा राम्रो अनि चिल्लो गाडी देख्दा पनि हेरिरहन्थेँ।’

अहिले सर्वाधिक रुचाइएकी गायिका शान्तिश्री परियारको आर्थिक अवस्था त रिमाल र सपुतको भन्दा पनि नाजुक थियो। रोल्पाको विकट गाउँको विपन्न परिवारमा जन्मेकी उनले गुजाराका लागि गिट्टी कुट्ने कामसमेत गर्नुपरेको थियो। गीत गाउने सपना बोकेरै काठमाडौँ आएकी उनको सुरुका केही वर्ष दोहोरीसाँझमै गाएर बित्यो।

२०७४ सालमा सपुतसँगै पहिलो गीत ‘बोल माया’ रेकर्ड गराएकी उनले सात वर्षमै काठमाडौँको गोंगबुमा चार करोड रुपैयाँको घर किनिन्। उता, गाउँमा डेरामा बस्ने आमाबुबाका लागि समेत घर बनाइदिइन्। उनी भन्छिन्, “म त धुलोबाट उठेको मान्छे। यो सबै संगीतकै कमाइले हो।”

मेला–महोत्सवको व्यस्तता

संगीतमा लाग्नेहरूका लागि १ वैशाखदेखि नै मेला-महोत्सवको याम सुरु हुन्छ। नयाँ वर्षमा इन्डोर होस् वा सार्वजनिक स्थलमा हुने कन्सर्ट, चलेका संगीतकर्मीहरूकै माग हुन्छ। गायिका परियार भन्छिन्, “बर्खाको बेला एकदुई महिना मात्र हो, तिज लागेपछि बढेको व्यस्तता फागुन-चैतसम्मै चल्छ। मेला–महोत्सवले मजस्तै धेरै गायक-गायिकालाई व्यस्त बनाउँछ।” हरेक वर्ष दसैँतिहारपछि चिसो मौसम सुरु भएसँगै विभिन्न जिल्लामा व्यापार एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न मेला–महोत्सवको आयोजना गरिन्छ। संगीत यस्ता महोत्सवको मुख्य आकर्षण हो। सातदश दिन चल्ने यी महोत्सवमा चल्तीका कलाकारको प्रस्तुति होस् भन्ने आयोजक र दर्शकहरूको चाहना हुन्छ। यो रमझमले चैतसम्मै निरन्तरता पाउँछ।

यस वर्षको चिसोमा पनि देशैभर सांगीतिक माहोल तात्तिइसकेको छ। चल्तीका गायक-गायिकाको सामाजिक सञ्जाल अहिले यिनै मेला-महोत्सवका प्रस्तुतिहरूको तस्बिरले रंगिएको देखिन्छ।

‘दुस्मन हेरेकोहेर्‍यै’ गीत ग्लोबल ट्रेन्डिङमा परेर चर्चा कमाएका दुर्गेश थापाको व्यस्तता दोब्बर भएको छ। गत वर्ष उनी एकै दिन दुई फरक ठाउँ हेटौँडा र नुवाकोट, अनि स्याङ्जा र अर्घाखाँचीमा प्रस्तुति दिन हेलिकोप्टरमा गएको खबरले चर्चा पाएको थियो। यो वर्ष पनि उनको ‘क्रेज’ घटेको छैन। लुम्बिनी, सुदूरपश्चिमलगायत देशका विभिन्न सहरदेखि सिक्किमका नेपालीमाझ उनले आफ्ना गीत सुनाइसके। उनका ‘जाने भए जाम माया,’ ‘बिच्चबिच्चमा’ लगायत गीत चर्चित छन्। देशमा ‘हिट,’ विदेशमा माग

सामाजिक सञ्जालमा हेर्दा अहिले धेरै गायक-गायिका विदेश यात्रा गरिरहेको या यात्राको सँघारमा रहेको भेटिन्छ। देशभित्र चर्चा कमाएका धेरै कलाकार युरोप, अमेरिका, जापान, दुबईलगायत देशमा आउजाउ गरिरहेका छन्।

प्रकाश दुतराजले भर्खरै दुबईमा प्रस्तुति दिए। एलिना चौहान क्यानडा पुगेकी छन्। प्रकाश सपुत होलीको अवसरमा अस्ट्रेलियामा गलबन्दी टुर गर्दै छन्। गत वर्ष फागुनमा विवाह गरेका महेश काफ्ले र अस्मिता अधिकारी आफूहरूलाई अचेल सामूहिक रूपमा विदेशबाट निम्तो आउने क्रम बढेको बताउँछन्। महेश भन्छन्, “यो वर्ष हामीले ओमान र अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दियौँ।” यो जोडी सांगीतिक प्रस्तुतिकै लागि जापान उड्ने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *