September 25, 2026 5:15 pm
rain

बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणाली भारतको छत्तीसगढमाथि पुगेर कमजोर हुँदै गए पनि त्यसको प्रभाव नेपालमा भने बढेको छ । समुद्रबाट तानेर ल्याएको जलवाष्प, सक्रिय मनसुनी वायु र नेपालको भौगोलिक अवस्थाका कारण देशभर वर्षा भइरहेको छ । प्रणालीको केन्द्र नेपालसम्म नआए पनि त्यससँग सम्बन्धित आर्द्रता लगायतका कारण नेपालमा भारीदेखि अति भारी वर्षाको अवस्था निम्त्याएको हो । नेपालमा वर्षाको अवस्था कस्तो छ, यो प्रणाली कसरी बन्यो र कहिले हट्छ ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

वर्षा गराउने प्रणाली कहाँबाट आयो र अहिले कहाँ छ ?

सुरुमा उत्तरी अन्डमान सागर र आसपास न्यूनचापीय क्षेत्र बनेको थियो । त्यसपछि यो बंगालको खाडीमा सर्दै बलियो भएर डिप डिप्रेसन (गहिरो न्यूनचापीय प्रणाली) बन्यो । बुधबार राति नै उत्तर आन्ध्र प्रदेशको तट पार गरेर दक्षिण ओडिशातर्फ प्रवेश गरिसकेको थियो । बिहीबार दक्षिण ओडिशा र आसपासको क्षेत्रमा सक्रिय थियो । भारतीय मौसम विभागका अनुसार अहिले दक्षिण छत्तीसगढ र आसपासको दक्षिणी ओडिशामाथि रहेको न्यूनचापीय प्रणाली पछिल्लो ६ घण्टामा १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिमतर्फ सरेको छ । यो प्रणाली बिहान ११:३० बजे भारतीय समयअनुसार सोही क्षेत्रमा केन्द्रित रहेको थियो । यो छत्तीसगढको रायपुरबाट करिब ७० किलोमिटर पूर्व, बिलासपुरबाट ९० किलोमिटर दक्षिण, चम्पाबाट ९० किलोमिटर दक्षिण–दक्षिणपश्चिम र पेन्ड्रा रोडबाट १७० किलोमिटर दक्षिण–दक्षिणपूर्वमा सक्रिय छ। बंगालको खाडीबाट विकसित भएर भारतको भूभागमा प्रवेश गरेको प्रणाली बिस्तारै कमजोर हुने क्रममा छ । 

प्रणाली कमजोर भइरहँदा नेपालमा वर्षा किन बढ्यो ? 

यो प्रणालीले समुद्रबाट ठूलो मात्रामा जलवाष्पयुक्त हावा तानेर ल्याएको छ । नेपाल आफैं पनि अहिले मनसुनी वायुको प्रभावमा छ र पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको विश्लेषण छ । त्यसैले बंगालको खाडीबाट आएको अतिरिक्त जलवाष्प नेपालमा रहेको मनसुनी वायुसँग मिसिँदा वर्षा सक्रिय भएको हो । कान्तिपुरसँग कुरा गर्दै बाढी पूर्वानुमान शाखाका प्रमुख एवं जलविद् विनोद पराजुलीले पनि यसको प्रत्यक्ष प्रभाव आँधीका रूपमा नभई प्रणालीले बोकेर ल्याएको जलवाष्पको बाहिरी प्रभाव आइपुगेको बताएका छन् । 

त्यसैले प्रणालीको केन्द्र नै नेपालसम्म आउनुपर्दैन, त्यसको आर्द्रताले पनि नेपालमा वर्षा गराउन सक्छ ।नेपालमा वर्षा किन यति व्यापक हुँदै छ ?

एउटै प्रणालीले मात्र यसरी भारीदेखि अति भारीसम्म वर्षा भएको होइन । नेपालमा अहिले मनसुन र पश्चिमी वायु दुवैको प्रभाव छ । त्यसमाथि बंगालको खाडीबाट आएको प्रणालीले थप आर्द्रता थप्दा वर्षाको क्षेत्र र अवधि बढ्दै गएको हो । अर्को कारण नेपालको भूगोल पनि हो । बंगालको खाडीबाट आएको आर्द्र हावा नेपालका पहाडतर्फ उक्लिँदा भौगोलिक उचाइका कारण माथि उठ्छ। माथि पुगेपछि हावा चिसिँदा जलवाष्प नै बादल र वर्षामा परिणत हुन्छ । त्यसैले, एकातिर प्रणालीबाट आएको जलवाष्प छ भने अर्कोतिर सक्रिय मनसुन र नेपालको पहाडी भू–भागले गर्दा पनि वर्षा सक्रिय बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *