September 12, 2026 8:22 pm
WhatsApp Image 2026-09-12 at 1.08.48 PM

काठमाण्डु नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र हेर्न नहुने बताएका छन्।
काठमाण्डुमा आयोजित काष्ठमण्डप संवादको तेस्रो शृङ्खलामा बोल्दै खनालले यस्ता विपद् विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
भोटेकोशीको नदीमा आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्वसूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउँदै यस्ता आरोप तथ्यमा आधारित नभएको बताए। हिमाली क्षेत्रमा हुने विपद्लाई जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
उनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गरे। नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपाली भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने उनले स्पष्ट पारे।
नेपाल–चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनुपर्ने खनालले सुझाव दिए । रेलमार्ग, सडक, सञ्चार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले स्पष्ट पारे।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएका आयोजनाको कार्यान्वयनमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनले ट्रान्स(हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कसँग सम्बन्धित परियोजनालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए।
खनालले नेपाल–चीन सम्बन्धको नयाँ आधारका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। नेपाली युवाले प्रविधि, उद्यमशीलता र डिजिटल नवप्रवर्तनमा क्षमता विकास गर्नुपर्ने उनले बताए। स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति, बलियो सीमापार कनेक्टिभिटी तथा सहमति भएका विकास आयोजनाको समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले दुई देशबिचको सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरे।
खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने पनि स्पष्ट पारे ।
नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने र असंलग्न, सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो ।
चीनको विकास मोडल, सामाजिक स्थायित्वबाट नेपालले पाठ सिक्न सक्ने उहाले बताए । खनालले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान निकै न्युन मात्र रहे पनि नेपाल सबैभन्दा बढी जोखिममा परेको उल्लेख गर्दै जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *