August 27, 2026 3:18 pm
WhatsApp Image 2026-08-27 at 11.44.45 AM

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी बाढीका कारण आएको राष्ट्रिय विपद्को सामाना गर्न सरकार सक्षम रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री वाग्लेले सरकारले राहत र उद्धार कार्यलाई पनि तीव्रता दिएको बताए ।
उनले प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताए ।
मन्त्री वाग्लेले तत्कालको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताए।
‘अहिले २२ वटा हेलिकप्टरले खोज तथा उद्धारको कार्य गरिरहेको छ । भूगोल र मौसमले साथ दिएसम्म उद्धारका गतिविधि जारी रहने छ’, उनले भने ।
उद्धार र राहतको चरणपछि प्रारम्भिक पुनरुत्थानको चरण आउने बताउँदै उनले त्यसपछि दीर्घकालीन, मध्यकालीन रूपमा पुनर्निर्माणको विषयहरूलाई सरकारले प्राथमिकता दिने बताए ।
मन्त्री वाग्लेका अनुसार चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ सुरक्षित रहेकाले तत्काल राहत र उद्धारमा कुनै कमी नहुने अर्थमन्त्रीले स्पष्ट पारे ।
मन्त्री वाग्लेले सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम पनि गरिसकेको बताए।
उनले भने, हामीले विश्व बैङ्कसँग कुरा गरेर करिब २५ अर्ब रुपैयाँ जतिको आर्थिक सहायता जुटाएका थियौँ। चीन, भारत र जापान सरकारबाट तथा एसियाली विकास बैङ्कबाट पनि सहयोग जुटाउने काम भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *