August 6, 2026 4:03 pm
image (6)

इन्भेस्टमेन्ट स्ट्राटेजिस्ट, तेक्वान्दोमा ब्ल्याक बेल्ट, टेडएक्स वक्ता र म्याराथन धावक । यी सबै परिचयसँगै दीपमाला ढकाल अहिले मिस नेपाल वर्ल्ड २०२६ पनि हुन् । कान्तिपुरसँगको कुराकानीमा उनले आफ्नो मिस नेपाल यात्रा, सार्वजनिक जीवनका चुनौती र विश्वमञ्चमा नेपाललाई कसरी चिनाउने भन्ने आफ्नो दृष्टिकोणबारे खुला रूपमा कुरा गरेकी छन् । कान्तिपुरका लागि जोनी नेपाल र रिसभ रिजालले गरेको कुराकानीको संवादित अंस।

सायद म जन्मिनुअघि नै मेरो यो यात्राको सुरुवात भइसकेको थियो। मेरी आमा सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगिताकी प्रतिस्पर्धी हुनुहुन्थ्यो। त्यसैले यो सपना मेरो परिवारसँग पनि जोडिएको थियो । म हङकङमा हुर्किएँ। त्यहाँका चर्चित अनुहारहरूलाई हेर्दा उनीहरूमा आफूलाई देख्न सक्दिनँथ्यो । उनीहरू मेरो जस्तो देखिँदैनथे, मेरो जस्तो बोल्दैनथे । तर सौन्दर्य प्रतियोगितामा भने मैले आफूजस्तै पृष्ठभूमिका युवतीहरूलाई आत्मविश्वासका साथ हिँडेको, प्रभावशाली रूपमा प्रस्तुत भएको र निर्धक्क बोलेको देखेँ । उनीहरूको व्यक्तित्वले मलाई धेरै प्रेरित गर्‍यो । त्यही बेला मैले महसुस गरेँ मलाई पनि यस्तै मञ्च चाहिएको रहेछ, जहाँ म आफ्नो आदर्श खोज्न सक्छु र आफू कस्तो व्यक्ति बन्न चाहन्छु भन्ने कुरा बुझ्न सक्छु ।

सुरुमा मेरो ध्यान आफूलाई अझ राम्रो बनाउनेतर्फ थियो। तर तयारी अगाडि बढ्दै जाँदा हरेक सानो कमजोरीमा ध्यान जान थाल्यो । कहिले बोलाइ, कहिले हिँडाइ, कहिले प्रस्तुति हरेक कुरामा आफूलाई धेरै कठोर रूपमा मूल्यांकन गर्न थालेँ। तर विस्तारै मैले एउटा महत्त्वपूर्ण कुरा सिकेँ । आत्मआलोचना तबसम्म उपयोगी हुन्छ, जबसम्म त्यसले सुधारतर्फ लैजान्छ । यदि त्यसले आत्मविश्वास नै कमजोर बनाउँछ भने त्यसको कुनै अर्थ हुँदैन । त्यसपछि मैले अरूसँग आफूलाई तुलना गर्न छाडेँ । हिजोको आफूभन्दा आज राम्रो बन्ने लक्ष्य राखेँ । यही सोचले मलाई प्रतियोगिताभर सन्तुलित र आत्मविश्वासी बनाइराख्यो । 

नयाँ ढाँचाको प्रतियोगितामा सहभागी हुँदा सुरुमा म निकै अन्योलमा थिएँ । विशेषगरी गैरआवासीय नेपाली (एनआरएन) समुदायको प्रतिनिधित्व गर्दै विश्वमञ्चमा उभिनुपर्ने भएकाले म वास्तवमै यसका लागि उपयुक्त छु कि छैन भन्ने ‘सेल्फ डाउट’ थियो । तर प्रतियोगिताको दोस्रो सातामा आयोजित ‘सास सेरेमोनी’ मेरा लागि टर्निङ प्वाइन्ट बन्यो । संयोगवश मैले प्रतियोगी नम्बर १७ पाएँ । यही नम्बर मेरी आमाले सन् १९९४ मा पहिलो मिस नेपाल प्रतियोगितामा सहभागी हुँदा पाउनुभएको रहेछ । त्यो क्षणले मलाई यो यात्रा संयोगभन्दा पनि ‘भाग्य’ले जोडेको जस्तो महसुस गरायो । त्यसपछि मेरो डर र ‘सेल्फ डाउट’ एकाएक हट्यो । मैले आफूलाई शंका गर्न छाडेँ र आफ्नो सम्पूर्ण ध्यान सिकाइ, व्यक्तिगत विकास र उत्कृष्ट प्रदर्शनमा केन्द्रित गर्न सकेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *