February 16, 2026 9:23 pm
झापा ५ बाट ओलीलाई जिताउन एमालेको अपिल जारी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण सार्वजनिक गरेको छ। पार्टीको झापा नं ५ क्षेत्रीय कमिटीले प्रकाशित गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षा देखि शिक्षक दरबन्दी मिलानसम्मका विषय समेटिएका छन्।

‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकको अपिलमा मतदाताको मनोबल उठाउनका लागि ओलीलाई जिताउनु आवश्यक रहेको उल्लेख गरिएको छ। अपिलमा भनिएको छ, “देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति र सुरक्षाको ग्यारेन्टी दिनका लागि ओलीलाई मत दिनुपर्छ।”

झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरू पूरा गर्न, नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराउन, युवामा सीपमूलक विकास गर्दै स्वरोजगारको अवसर अभिवृद्धि गर्न, ओलीलाई मतदान गर्न अपिल गरिएको छ।

अपिलमा अर्थतन्त्र सुस्ताएको अवस्थामा पुनः चलायमान बनाउन, कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि ओली आवश्यक भएको उल्लेख छ। निर्माणाधिन एशियन हाइ वे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि मतदातालाई ओलीलाई मतदान गर्न आह्वान गरिएको छ।

दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रूपमा रहेको दमक–रवि सडक–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्न, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न, दमक, गौरादह र गौरिगञ्ज बजारलाई स्मार्ट सिटीको रूपमा विकास गर्न पनि ओलीलाई मतदान गर्न अपिल गरिएको छ।

एमालेले भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि अध्यक्ष ओलीलाई मत दिन आग्रह गरेको छ। रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्धन कार्य पूरा गर्न र दमक, गौरादह, गौरीगञ्जका स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तार गर्न पनि अपिलमा समावेश छ।

पार्टीका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार, “केपी ओली र झापा ५ एकअर्काका परिपुरक हुन्। उहाँले गरेका विकास निर्माणका काम, प्रत्यक्ष चिनेका मतदाता र सेल्टरदातासँगको सामिप्यताले उहाँले चुनाव सहजै जित्नुहुन्छ।”

एमालेले मतदातालाई ओलीलाई स्मरण गराउन अपिल जारी गरेको छ। घरदैलोमा गएका पार्टी कार्यकर्ताले अपिललाई चर्चा सामग्रीको रूपमा प्रयोग गर्न सक्ने उल्लेख पनि गरिएको छ। प्रत्येक वडामा कम्तीमा १५ सय वटा अपिल वितरण गरिने जानकारी कार्कीले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *