याक्थुङ (लिम्बू) जातिको धार्मिक ग्रन्थमा रहेका विशिष्ट शब्दलाई लिएर निर्माण गरिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँला, इतिहासविद भगिराज इङनामलगायतले शुक्रबार ललितपुरमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गरिएको छ।
डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको संकलन तथा लेखनमा मुन्धुम एकाडेमीले प्रकाशन गरेको शब्दकोश लिम्बू–नेपाली र अंग्रेजी भाषामा रहेको छ। सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएका छन्।
याक्थुङ जातिको मालिक ज्ञानको प्रमुख स्रोत मुन्धुम हो। मुन्धुम धार्मिक अनुष्ठान, कर्मकाण्डीय वाचन, पुर्खाहरूको ऐतिहासिक अनुभव, सामाजिक स्मृति, प्रकृतिसम्बन्धी ज्ञान, जीवनदर्श तथा सांस्कृतिक अभ्यासहरू समग्र संग्रहहो। उक्त कृतिभित्र मौखिक तथा लिखित ज्ञानशास्त्र ‘याक्थुङ साम्जिक मुन्धुम’मा प्रयोग हुने विशिष्ट शब्दवली, अर्थ पहिचान र परिभाषा दिइएका छन्। यसमा मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने दुईपदीय मुन्धुमी शब्दहरूको दुवै पदको अर्थ तथा सन्दर्भ व्याख्या गरिएको छ।
प्रमुख अतिथि काइँलाले याक्थुङ (लिम्बू) भाषा हालैमात्र प्रदेश–१ को सरकारी कामकाजको भाषा कायम भएको उल्लेख गर्दै अब लिम्बू भाषामा प्राविधिक र पारिभाषिक शब्दकोश आवश्यक रहेको बताउनु भयो। त्यसका निम्ति युवा पुस्ताले अविलम्ब पहल गर्नुपर्नेमा जोडदिए।
इतिहासविद इङ्नामले लिम्बू भाषाको प्रकाशनमा नयाँ आयाम थपिएको बताए।
याक्थुङ लिम्बू भाषाको गीत, संगीत, पालाम, हाक्पारे साम्लो, साहित्य, मुन्धुम लेखन कार्यहरू भइरहँदा मुन्धुम शब्दकोशको आवश्यकता खड्किएकाले मुन्धुमी शब्दकोश प्रकाशन गर्नुपरेको लेखकद्वयको दावी छ। विमोचित कृति ४ सय २० पृष्ठको रहेको छ, जसमा १ हजार ५ सयभन्दा बढी शब्द प्रविष्टी गरिएका छन्। पुस्तकको मूल्य दुई हजार रुपैयाँ राखिएको छ।
याक्थुङ भाषामा यसअघि समग्र विषयलाई लिएर ‘लिम्बू शब्दकोश’ प्रकाशित छन्। विदेशी अन्वेषकले लिम्बू भाषाबारे सन् १८११ देखि शब्द संकलन गरेको पाइन्छ। स्वदेशका स्वभाषी काजीमान कन्दङ्वाले २०१० सालमा लिम्बू शब्दकोश संकलन गरेका थिए। इमानसिंह चेम्जोङको संकलन तथा लेखनमा ‘लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश’ २०१८ सालमा प्रकाशित छ। नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित उक्त शब्दकोशलाई बैरागी काइँलाको अगुवाइमा संशोधनसहित ४० हजार शब्द समेटिएका छन्।
लेखकद्वय डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको यसअघि ‘लिम्बू नामकोश’ संयुक्त अनुसन्धान कृति प्रकाशित छ। याक्थुङ भाषा, साहित्य, इतिहास, संस्कृति तथा मौलिक ज्ञानप्रणालीको अध्ययन, अनुसन्धान, संरक्षणमार्फत् भावी पुस्तामा ऐतिहासिक चेतना र सांस्कृतिक निरन्तरता कायम राख्ने क्रम जारी रहेको मुन्धुम एकाडेमीको विज्ञप्तिमा उल्लेख गरिएको छ।
