काठमाडौँ – पूर्वी हिमालय क्षेत्रमा संस्कृति, रचनात्मकता र संवादलाई उत्सवका रूपमा अघि बढाउने लक्ष्यसहित सिक्किम कला तथा साहित्य महोत्सव २०२६ (एसएएलएफ २०२६) हुने भएको छ ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)को पहलमा आयोजना हुने यो महोत्सव सिक्किम सरकारको शिक्षा विभाग अन्तर्गतको स्टुडेन्ट्स वेलफेयर बोर्ड तथा टीमवर्क आर्टस्द्वारा संयुक्त रूपमा आयोजना हुनेछ ।
महोत्सव आगामी २६ देखि २८ अप्रिलसम्म सिक्किमको गान्तोकस्थित द रिज पार्कमा आयोजना हुनेछ ।
दोस्रो संस्करणको यो महोत्सवमा विश्वका प्रख्यात लेखक, चिन्तक तथा कलाकारहरूको सहभागिता रहनेछ । यो महोत्सवले साहित्यिक र सांस्कृतिक बहसलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
महोत्सव आयोजकका अनुसार महोत्सवले भारत तथा विश्वभरका अग्रणी साहित्यिक आवाजहरूलाई एकै मञ्चमा ल्याउँदै विचार, कथा र दृष्टिकोणको आदान–प्रदानलाई प्रवद्र्धन गर्नेछ ।
महोत्सवमा साहित्य, इतिहास, कला तथा संस्कृतिका विभिन्न विधामा ख्याति कमाएका व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
महोत्सवले साहित्य, कला र विचारको अन्तर्राष्ट्रिय आदान–प्रदानलाई सुदृढ गर्दै क्षेत्रीय तथा वैश्विक स्तरमा सांस्कृतिक संवादको नयाँ आयाम खोल्ने अपेक्षा पनि आयोजकले गरेको छ ।
