एजेन्सी: नेपाल शेर्पा संघको सातौँ महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष तेन्जी शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणासँगै उनले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै शेर्पाले संघलाई संस्थागत रूपमा सुदृढ गर्दै शेर्पा समुदायको हकहित, पहिचान र समुन्नत भविष्यका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
विगत लामो समयदेखि संघको उपाध्यक्षको भूमिकामा रहेर संस्थागत सुदृढीकरण, सांस्कृतिक पहिचानको संरक्षण, संघको भवन खरिद तथा सभा हल निर्माण, ध्यान केन्द्र स्थापना र विविध कार्यक्रम मार्फत समुदायमा उल्लेखनीय योगदान पुर्याउँदै आएका युवा व्यवसायी तथा समाजसेवी तेन्जी शेर्पाले अब संघको नेतृत्वमा गुणात्मक परिवर्तन ल्याउने अठोट व्यक्त गरे।