बागलुङमा पहिरोका कारण विस्थापित भएका नागरिकका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ।
पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डा उपल्लोचौरबाट राहत सामग्री पठाइएको हो।
गत शनिबार र आइतबारको भारी वर्षापछि खसेको पहिरोमा परेर बागलुङका विभिन्न गाउँपालिकामा गरी १० जनाको मृत्यु भएको छ। पहिरोका कारण निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनाले ज्यान गुमाएका छन्।
सडक सञ्जाल अवरुद्ध भएका कारण प्रभावित क्षेत्रमा सहजरूपमा राहत पुर्याउन कठिन भएपछि बागलुङ बजारबाट सेनाको हेलिकप्टर प्रयोग गरी विस्थापित परिवारसम्म राहत सामग्री ढुवानी गरिएको हो।
