एजेन्सी: म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ ।
कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२/८३ मा ३४ पुगेको छ । कूल ९३ दशमलब ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२ र ०३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको हो । यसअघि १६ स्थानीय तहमा लागू भएको थियो ।
नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित आयोजनामार्फत १० प्रजातिका फलफूलखेती विस्तार गर्न कृषि फार्म, सहकारी र समूहले ५० प्रतिशत अनुदान पाउने आयोजना प्रमुख वासुदेव काफ्लेले जानकारी दिए । “पहाडी क्षेत्रमा ओखर, सुन्तला, कागती, किबीलगायत फलफूलखेती विस्तार र प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो,” उनले भने “बसाइसराइका कारण बाँझिएका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउनका लागि आयोजनाले सहयोग पुगेको छ ।”