काठमाडौँ — राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका अति विशिष्ट र विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किंदा विमानस्थलमा राज्यका उच्च पदस्थ अधिकारीको लर्को अब घट्ने भएको छ ।
गृह मन्त्रालयले कार्यविधि संशोधनमार्फत अति विशिष्ट र विशिष्टलाई बिदाइ र स्वागत गर्न विमानस्थलमा उपस्थित हुनेको संख्या कटौती गरेको छ । ‘अति तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१’ मा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्ष बिदाइ र स्वागतका लागि विमानस्थलमा जानु नपर्ने व्यवस्था छ ।
शक्ति पृथकीकरणको मान्यताअनुसार पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा व्यवस्थापिकाका प्रमुखहरूले बिदाइ र स्वागत गर्नु सही नहुने भएकाले कार्यविधि संशोधन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अबदेखि राष्ट्रपति विदेश भ्रमणमा जाँदा र विदेश भ्रमणबाट फर्किंदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल (परराष्ट्र मन्त्रालय) र परराष्ट्रले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख मात्रै विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन् ।