
एजेन्सी: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै सुशीला कार्की नेतृत्वको सरकारबाट समस्याको समाधान नहुने बताएका छन्। कार्कीको नेतृत्वमा सरकारको निर्माण जेन–जी र जनताको अपेक्षा विपरीत बन्नेको उनको भनाइ छ।
‘विद्रोह जेन–जीको सरकार जेन–एक्सको भएको छ । हाम्रो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले पहिले नै स्पष्ट गरेका थियौ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ । विभिन्न क्षेत्रबाट यो सुझाव नपुगेको होइन । परन्तु यसलाई जाना–जान प्रवेश गराइएन या बेवास्ता गरियो । कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ ।’
वर्षोदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरूलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु होइन संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र भएको भन्दै जनताले नस्वीकार्ने उनको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनर्संरचना र संविधानको पुनः लेखन पनि हो । पुरानो राज्य प्रणालीलाई यथावत् राखेर यसको निकास सम्भव छैन । तसर्थ आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रूपान्तरण गर्नका लागि समयमा नै सचेत बनौँ ।’
देशका सामु खडा भएका राष्ट्रिय स्वाधीनताको विशेष चुनौतीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्न आह्वान गरेका छन्। आफ्नो देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार, नेपाली विशेषताको समाजवादको पक्षमा इमान्दारीपूर्वक डटिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।