November 17, 2026 3:31 pm
WhatsApp Image 2026-11-17 at 2.11.43 PM

काठमाडौँ मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको भन्दै नेपाल प्रहरीले यसको रोकथाम र न्यूनीकरणका लागि तीनदिने सचेतनामूलक अभियान सुरु गरेको छ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसर पारेर प्रहरीले मधेस प्रदेशका जिल्लामा यौनजन्य हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सन्चालन गरेको हो।
वीरगन्जस्थित घण्टाघरमा मंगलबार आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालले अभियानको उद्घाटन गरे।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको देखिएकाले प्रहरी प्रधान कार्यालयको परिपत्रअनुसार अभियान सन्चालन गरिएको बताए। यौनजन्य हिंसामुक्त समाज निर्माण अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
यस्ता अपराध नियन्त्रण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले नागरिक समाज, विभिन्न संघसंस्था, विद्यार्थी र समुदायका सबै वर्गको सक्रिय सहभागिता आवश्यक रहेको बताए। सबै पक्षसँग सहकार्य गरेर अभियानलाई प्रभावकारी बनाउने उनले बताए।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा पर्साका प्रहरी प्रमुख पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थी सहभागी थिए।
उद्घाटनपछि घण्टाघरबाट निकालिएको सचेतनामूलक र्‍यालीले वीरगन्जका विभिन्न भागको परिक्रमा गरेको थियो। र्‍याली पुनः घण्टाघरमै पुगेर समापन भएको थियो। तीन दिनसम्म सन्चालन हुने अभियानमा यौनजन्य हिंसाका घटनाबारे समुदायलाई सचेत गराउने, रोकथामका उपायबारे जानकारी दिने तथा हिंसाविरुद्ध आवाज उठाउन नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *