काठमाडौँ भारतको कोलकातामा आयोजना हुने आठौँ हिमालयन सुन्तला पर्यटन महोत्सव नेपालको ग्रामीण पर्यटन, होमस्टे र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन अवसर वन्ने भएको छ। सो महोत्सवमा सहभागी हुन होमस्टे महासंघ नेपालले सरोकारवालाहरुलाई आव्हान समेत गरेको छ।
होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले महोत्सवलाई नेपालको होमस्टे पर्यटन र स्थानीय उत्पादनको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने अवसरका रूपमा लिएको बताए। ‘हामीले यस महोत्सवलाई नेपालको होमस्टे, स्थानीय उत्पादन, मौलिक संस्कृति र ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिएका छौँ। नेपालका गाउँघरमा उत्पादन हुने वस्तु र त्यहाँको मौलिक आतिथ्य संस्कृतिलाई विदेशी पर्यटक तथा बजारसम्म पुर्याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ,’ अध्यक्ष थारूले भने। मर्दनीया आफै नेपालकै चर्चित होमस्टे अमलटारी होमस्टेका अध्यक्ष समेत हुन्।
आगामी डिसेम्बर ११ देखि १३ सम्म भारतको कोलकातास्थित सिटी सेन्टर–१, साल्टलेकमा महोत्सव आयोजना हुँदैछ । एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिजम ९एसीटी०, भारतको आयोजनामा हुने महोत्सवमा नेपालका होमस्टे सञ्चालक, स्थानीय उत्पादनका उत्पादक, उद्यमी तथा सांस्कृतिक प्रस्तोताहरूलाई सहभागी गराउने होमस्टे महासंघको तयारी छ ।
महोत्सवमा नेपाली सुन्तला, एभोकाडो, किवीलगायत फलफूल, स्थानीय कृषि उपज, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी र बिक्री गर्न सकिनेछ । यसबाट नेपाली उत्पादनको बजार विस्तारसँगै नेपालको ग्रामीण पर्यटन र होमस्टे संस्कृतिको प्रचारप्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको मर्दनीयाले बताए।‘हामीले नेपालका विभिन्न स्थानमा सञ्चालित होमस्टेहरूको मौलिकता, स्थानीय खानपान, रहनसहन, संस्कृति र पर्यटकीय सम्भावनालाई महोत्सवमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेका छौं,’ उनले भने।
सहभागीहरूका लागि महोत्सव अवधिभर प्रदर्शनी तथा बिक्री स्टल र आवास निःशुल्क उपलब्ध हुने गरि महासंघले व्यवस्थापन गरेको छ। महासंघले होमस्टे सञ्चालक, कृषक, उद्यमी तथा स्थानीय उत्पादनसँग जोडिएका सबैलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।
