November 14, 2026 2:09 pm
WhatsApp Image 2026-11-14 at 12.49.25 PM

हेटौँडामा अर्धस्वचालित पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
शनिबार बिहान अवैध सामान ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुवर्ण थापाको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१ स्थित तिरतिरे धारानजिकै ना. १ ह ११८१ नम्बरको अटोलाई शङ्का लागेर जाँच गरेको थियो।
जाँचका क्रममा अटोमा सवार मनहरी गाउँपालिका–६ नयाँबस्तीका आमिर भन्ने सुनबहादुर तामाङले अर्धस्वचालित लोडेड पेस्तोल निकालेर फायरिङ गर्दै भाग्न खोजेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसपछि उनलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। घटनास्थलबाट अटोमा सवार तामाङ र अटो चालक विश्वराज मोक्तानलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरीले उनीहरूको साथबाट ७.६५ एमएमको चिनियाँ अर्धस्वचालित पेस्तोल एक थान, सोही हतियारमा प्रयोग हुने एक राउण्ड गोली, म्यागजिन एक थान र एन्ड्रोइड मोबाइल तीन थान बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरी बलका डीआईजी दीपेन्द्र शाहको नेतृत्वमा अपराध नियन्त्रण तथा अवैध हतियार ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानअन्तर्गत उक्त कारबाही गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *