अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले डिजिटल अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ। यसअघि हातले लेखेर अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको नगरपालिकाले अब स्मार्ट कार्डमार्फत परिचयपत्र वितरण गर्न थालेको हो।
नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले अपाङ्गता भएकी एक बालिकालाई डिजिटल परिचयपत्र प्रदान गर्दै वितरण कार्यको शुभारम्भ गरिन्। नगरपालिकाबाट प्रदान गरिने सेवालाई डिजिटलमैत्री बनाउने लक्ष्यसहित स्मार्ट परिचयपत्र वितरण सुरु गरिएको उपप्रमुख आचार्यले बताइन्। उनले डिजिटल प्रणालीको प्रयोगले नगरपालिकाको सेवा प्रवाह छिटोछरितो हुनुका साथै सेवा थप विश्वसनीय र पारदर्शी हुने विश्वास व्यक्त गरिन्।
स्थानीय तहबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ। यसअघि हातले लेखेर परिचयपत्र वितरण हुँदै आएकोमा स्मार्ट कार्डमार्फत वितरण सुरु भएपछि परिचयपत्र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। डिजिटल परिचयपत्रले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा परिचयपत्रसम्बन्धी अभिलेख व्यवस्थापनलाई सहज बनाउनसमेत मद्दत पुग्ने विश्वास गरिएको छ।
सन्धिखर्क नगरपालिकाले डिजिटल अपाङ्गता परिचयपत्र वितरण सुरु गरेसँगै स्थानीय तहबाट प्रवाह हुने सेवालाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास अघि बढाएको छ।
