October 13, 2026 9:37 pm
WhatsApp Image 2026-10-13 at 4.24.12 PM

बागमती प्रदेशले १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने भएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार प्रतियोगितामा बागमतीबाट ६५६ खेलाडीसहित कुल ७८२ जनाको सहभागिता रहनेछ । प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता तथा मेडिकल टोली गरी थप १२६ जना सहभागी हुनेछन् ।
प्रतियोगिताका लागि प्रदेशका १३ वटै जिल्ला तथा सम्बन्धित खेल संघलाई तयारी र खेलाडी छनोटका लागि पत्राचार गरिसकिएको छ । आगामी १५ कात्तिकभित्र सबै खेलको छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको सदस्य सचिव लामाले बताए । कुल ३२ खेलमध्ये १२ खेलमा जिल्लास्तरबाट खेलाडी छनोट गरिने छ भने बाँकी खेलमा खुला छनोट हुनेछ । खुला छनोटमा प्रदेशका १३ जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुनसक्ने परिषद्ले जनाएको छ ।
यसअघि सम्पन्न तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई पनि १०औं राष्ट्रिय खेलकुदको पूर्वतयारीका रुपमा लिइएको छ । उक्त प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई समेत छनोट प्रक्रियासँग जोडिने उनको भनाइ छ । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई ‘क्लोज क्याम्प’मा राखेर विशेष प्रशिक्षण दिने तयारी गरिएको छ । खेलाडीको शारीरिक तयारीसँगै खेल मनोविज्ञान, फिजियोथेरापी, पोषण तथा नियमित प्रशिक्षणलाई प्राथमिकता दिइने परिषद्ले जनाएको छ ।
आवश्यकताअनुसार योग्य तथा उच्चस्तरीय प्रशिक्षक नियुक्त गरेर प्रशिक्षण गराइने सदस्य सचिव लामाले जानकारी गराए । ‘कुन स्थान हासिल गर्छौं भनेर अहिले नै ठ्याक्कै भन्न सकिँदैन तर उत्कृष्ट नतिजाका लागि आवश्यक आधार तयार गर्दैछौँ,’ उनले थपे । १०औं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि बागमती प्रदेशले पाँच करोड ६० लाखको स्रोत सुनिश्चित गरेको छ । प्रदेश सरकारले प्रतियोगिताका स्वर्ण पदक विजेतालाई एक लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको परिषद्ले जनाएको छ ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *