October 9, 2026 4:01 am
WhatsApp Image 2026-10-08 at 1.19.21 PM

विराटनगर स् जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको कोशी प्रदेशसभा सचिवालयको अचल सम्पत्ति अब मिनाहा हुने भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभा सचिवालयका नष्ट भएका अचल सम्पत्ति मिनाहा गर्ने निर्णय लिएको हो ।
जेनजी आन्दोलनका क्रममा आपराधिक समूहको २०८२ भदौ २४ गतेको आगजनी र तोडफोडबाट प्रदेशसभा सचिवालयमा ठूलो क्षति पुगेको थियो । आन्दोलनको आवरणमा भएको उक्त घटनाबाट क्षति पुगेका अचल सम्पत्तिको विवरण र अवस्थाका आधारमा मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित मिनाहा सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७८ को दफा ४७ तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७९ को नियम १११ बमोजिम गठित समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
यसैबीच, सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयको कामकाजसमेत हेर्ने जिम्मेवारी दिएको छ । मन्त्रालयको नियमित प्रशासनिक तथा कामकाज सञ्चालनका लागि अधिकारीलाई थप जिम्मेवारी दिइएको हो ।
बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ । त्यस्तै,कोशी प्रदेश अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक तर्जुमाका लागि आवश्यक सिद्धान्त स्वीकृत गरिएको छ ।
सरकारले कोशी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायका लागि आर्थिक वर्ष २०८३–८४ को अस्थायी दरबन्दीसमेत स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता मन्त्री शेर्पाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *