September 28, 2026 4:21 pm
WhatsApp Image 2026-09-27 at 12.29.25 PM

नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र स्वास्थ्य सेवा अभियानलाई तीव्र बनाएको जनाएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले विवरण सार्वजनिक गर्दै हालसम्म हवाई माध्यमबाट ४ हजार २४२ जनाको उद्धार गरिएको जनाएको हो।
सेनाका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना स्वदेशी र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत प्रभावित क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
दुर्गम तथा सडक सम्पर्कबाट विच्छेद भएका क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री ढुवानी भइरहेको छ। हालसम्म नुवाकोट र रसुवाका विभिन्न स्थानमा नेपाली सेनाको ड्रोनबाट ३६ हजार ३१७ केजी राहत तथा अत्यावश्यक सामग्री पुर्‍याइएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार २ सयभन्दा बढी फौज परिचालन गरिएको छ।
उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन तथा आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका छन्।
वेत्रावती नदीमा पुल जडानको तयारीका क्रममा उत्तरगया स्कुलदेखि बेत्रावती पुल खण्डसम्म रक कटिङ र ब्लास्टिङ गरी करिब २०० मिटर लामो ट्र्याक खोलिएको सेनाले जनाएको छ। उक्त ट्र्याक करिब १।५ मिटर उचाइ र ४।५ मिटर चौडाइको रहेको छ।
यस्तै, त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट शुक्रबार १० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म उक्त सेवाबाट लाभान्वित हुनेको संख्या ४ हजार ४१ पुगेको सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *