September 25, 2026 6:02 pm
WhatsApp Image 2026-09-25 at 1.00.10 PM

काठमाडौँ भोटेकोसी बाढीका कारण अभिभावक गुमाएका तथा विस्थापित भएका बालबालिकाको पढाइलाई निरन्तरता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि बढाएको छ।
योजनाअन्तर्गत प्रभावित बालबालिकालाई आवश्यकता पहिचान गरेर कक्षा १२ सम्म अध्ययनका लागि छात्रवृत्ति तथा संरक्षणको व्यवस्था गरिने मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले बताए।
प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार बाढीबाट अभिभावक गुमाएका बालबालिकालाई प्राथमिकतामा राखेर आवासीय सुविधा, पूर्ण तथा आंशिक छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराइनेछ। बालबालिकाको पारिवारिक अवस्था र आवश्यकताका आधारमा सहायता निर्धारण गरिने छ।
छात्रावृत्तिको रकम एक अर्बको हुने उनले बताए। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भोटेकोसी बाढीका कारण अभिभावक गुमाएका सबै बालबालिकाको शिक्षा पाउने हक सुनिश्चित गर्ने बताउँदै आएका छन्। स्थानीय तहसँग समन्वय गरी संघीय सरकारले छात्रवृत्ति, संरक्षण र सिकाइ निरन्तरताका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।
शिक्षा मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनअनुसार रसुवा, नुवाकोट र धादिङका ३२ विद्यालयका ९ हजार ३ सय ४० बालबालिका बाढीबाट प्रभावित भएका छन्। तीमध्ये ३ हजार ९ सय २८ जना प्रत्यक्ष प्रभावित र १ हजार ३ सय ७३ जना विस्थापित भएर होल्डिङ सेन्टरमा बसिरहेका छन्। प्रारम्भिक विवरणमा ४ सय ८८ विद्यार्थी सम्पर्कविहीन र पाँच विद्यार्थी मृत भेटिएको सरकारी तथ्यांक छ।
अभिभावक दुवै गुमाएका, आमाबुबामध्ये एक गुमाएका, विस्थापित भएका तथा विद्यालय जान नसक्ने अवस्थामा रहेका बालबालिकाको आवश्यकता फरक हुने भएकाले सोहीअनुसार छात्रवृत्ति दिने तयारी गरिरहेको प्रवक्ता श्रीप्रसाद भट्टराईले बताए।
सरकारले विभिन्न निकाय, प्रदेश तथा स्थानीय तह, संघसंस्था, गैरसरकारी संस्था र व्यक्तिबाट प्राप्त हुने सहयोगलाई एकीकृत गरी ‘छात्रवृत्ति बैंक’ मार्फत वितरण गर्ने अवधारणा अघि सारेको छ। यसबाट तत्कालका बाढीपीडित विद्यार्थी मात्र नभई भविष्यमा विपद्बाट प्रभावित हुने बालबालिकालाई समेत सहयोग गर्ने लक्ष्य सरकारको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *