September 23, 2026 4:53 pm
WhatsApp Image 2026-09-23 at 1.38.18 PM

भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको सरकारले जनाएको छ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले माथिल्लो त्रिशूली( १, थ्री(ए, रसुवागढी लगायतका विभिन्न आयोजनामा ठूलो मानवीय र भौतिक क्षति भएको सदनलाई जानकारी गराए। विपद्‍मा परी नेपाल विद्युत प्राधिकरणका ४७ सहित ८ सयभन्दा बढी कर्मचारी र कामदार बेपत्ता रहेको उनले बताए।
भौतिक संरचनातर्फ राष्ट्रिय प्रसारण प्रणालीबाट ४१० मेगावाट विद्युत गुमेको छ। विपद्का कारण ऊर्जा क्षेत्रमा करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण मन्त्री श्रेष्ठले पेश गरे।
११ वटा जलविद्युत केन्द्र बन्द हुँदा ४१० मेगावाट विद्युत प्रणालीबाट बाहिरिएको छ भने ६ वटा निर्माणाधीन आयोजनामा पनि गम्भीर क्षति पुगेको छ। सब–स्टेसन र प्रसारण लाइनमा पुगेको क्षतिले राष्ट्रिय ग्रिडलाई समेत प्रभावित पारेको छ। सिँचाइ र नदी नियन्त्रण संरचनाको पुनःस्थापनाका लागि मात्रै थप करिब ५ अर्ब आवश्यक पर्ने मन्त्रालयको आँकलन छ।
संकटको यस घडीमा सरकारले पीडित परिवारलाई राहतको घोषणा गरेको छ। मन्त्री श्रेष्ठका अनुसार बेपत्ता भएका प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म आधा तलब उपलब्ध गराइनेछ। साथै, बाढी प्रभावित ग्राहकका लागि न्यूनतम महशुल मिनाहा, निःशुल्क मिटर वितरण र विशेष सहुलियतको व्यवस्था गरिएको छ।
मन्त्री श्रेष्ठले विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको प्रयोग गरी दुर्गम तथा प्रभावित क्षेत्रमा बत्ती बाल्ने कार्य भइरहेको बताए। रसुवा, नुवाकोट लगायतका प्रभावित जिल्लामा छोटो समयमै विद्युत सेवा पुनः सञ्चालन गर्न सफल भएको दाबी उनले गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *