काठमाडौँ नेपाली कांग्रेस लमजुङले जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशनबाट वडा नेतृत्वसँगै करिब दुई हजार क्षेत्रीय प्रतिनिधि चयन गरिएको पार्टीले जनाएको छ ।
वडा अधिवेशनबाट वडा समिति गठनसँगै क्षेत्रीय प्रतिनिधि चयन गरिएको नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार सबै वडामा निर्विरोध रूपमा अधिवेशन सम्पन्न भएको हो ।
चयन भएका क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सहभागी हुनुहुनेछ । उहाँहरूले पालिका, जिल्ला नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रियामा समेत सहभागी हुने अधिकार पाउनेछन् ।
कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरेको हो । असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिएको थियो । केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते गर्ने तय भएको कांग्रेसले जनाएको छ ।
वडा अधिवेशनसँगै जिल्लामा पार्टीको आगामी नेतृत्वका लागि आन्तरिक तयारीसमेत तीव्र बनेको छ । विभिन्न समूहका नेता तथा कार्यकर्ता वडा अधिवेशनलाई केन्द्रित गर्दै सक्रिय भएका छन् । यद्यपि, देउवा र शेखर पक्षका केही नेता तथा कार्यकर्ता ‘कुलिङ पिरियड’ को विषय उठाउँदै वडा अधिवेशनमा सहभागी नभएको जनाइएको छ । अधिकांश नेता तथा कार्यकर्ता भने वडा अधिवेशनमा सहभागी भएका थिए ।
