September 14, 2026 7:57 pm
WhatsApp Image 2026-09-14 at 11.22.03 AM

काठमाडौँ अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले करिब दुई अर्ब रुपैयाँ लगानीमा नेपाल–भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो।
विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। ४०० केभी न्यु बुटवल सबस्टेसनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन एक करोड २८ लाख अमेरिकी डलर (करिब दुई अर्ब रुपैयाँ) लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ।
विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ।
प्रसारण लाइन निर्माणसँगै सीमापार ऊर्जा सञ्जाल विस्तारमा सहजता थपिने अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले बताए।
नेपाल–भारत सीमापार प्रसारण लाइन निर्माणले बृहत् लाभ हासिल हुने नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए
एमसिसीअन्तर्गत कुल ३१५ किलोमिटर प्रसारण लाइनमध्ये १८ किलोमिटर निर्माण सम्पन्न भए पनि २९७ किलोमिटर बाँकी छ। बाँकी २९७ किलोमिटरमध्ये लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यु दमौली प्रसारण लाइन खण्ड र न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन निर्माण धमाधम भइरहेको छ। त्यसैगरी तीन वटा सबस्टेसन निर्माण पनि भइरहेको छ।
प्रसारण लाइनहरूले देशका प्रमुख ऊर्जा केन्द्रहरूलाई जोडेपछि विद्युत् प्रसारणमा थप सहयोग पुग्नेछ। एमसिसीमा नेपाल–अमेरिका साझेदारीअन्तर्गत कुल ७४ करोड ७० लाख अमेरिकी डलरबराबरको लगानी छ। जसमा अमेरिकाले ५५ करोड अमेरिकी डलर र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर योगदान छ। प्रारम्भिक सम्झौतामा अमेरिकाको अनुदान ५० करोड डलर भए पनि पछि पाँच करोड थपेर ५५ करोड पुर्‍याइएको हो।
सरकारले आगामी दशकभित्र १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। चार सय केभी क्षमताको प्रसारण लाइन र नयाँ सबस्टेसनहरूले यो लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *