प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिएका हुन् ।
बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गरेकी थिइन् । तथापि, सभामुख अर्यालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराए ।
सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए । सभामुखले बोल्न समय नदिएपछि र स्पष्टीकरणको अवसर प्राप्त नभएपछि सांसद तामाङ संसद् बैठकबाट बाहिरिएकी थिइन् ।
