राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा उनी नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ जाने कार्यक्रम तय भएको उच्च स्रोतले जनाएको छ । हाललाई साउनको अन्तिम साता भ्रमणको मिति तय भनिएको भए पनि तलमाथि हुन सक्ने स्रोतले जनाएको छ ।
पार्टीका एक उच्च नेताका अनुसार भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सभापति लामिछानेको भेट गराउने वातावरण बनाउन चिनियाँ पक्षसँग आग्रह गरिएको छ । ‘राष्ट्रपति सीसँग भेटका लागि चिनियाँ पक्षसँग समन्वय भइरहेको छ,’ ती नेताले भने ।
रास्वपाका अनुसार भ्रमणका क्रममा दुई देशका राजनीतिक दलबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यसअघि फागुनको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेपछि सभापति लामिछाने जेठको तेस्रो साता भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा गएका थिए । पाँचदिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए भने भारतीय पक्षले उनको औपचारिक स्वागत गरेको थियो ।
जुनदेखि नै भ्रमणका लागि गृहकार्य भएको थियो । यसअघि जुलाईको तेस्रो हप्ता नै लामिछानेको भ्रमणको तयारी भए पनि चिनियाँ राष्ट्रपति चिनफिङसँगको भेट निश्चित नभएपछि सारिएको थियो ।
