भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ।भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो।उद्धार गरिएकाहरूलाई भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएको प्रहरीले जनाएको छ। रूपन्देहीका प्रहरी प्रमुख जनकबहादुर शाहीका अनुसार भारतीय राजदूतावासको समन्वय तथा एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको हो।उद्धार गरिएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ। आठवटा भारतीय बसमा राखेर नेपाल ल्याइएका उनीहरूको विवरण सङ्कलन तथा स्क्रिनिङ प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।उद्धार गरिएकामध्ये करिब आधा महिला छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत पुर्याई बन्दक बनाइएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ।
