February 16, 2026 9:16 pm
कास्की जिल्ला अदालतले लामिछानेको मुद्दा फिर्ता रोक्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ।

सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यस निर्णयअनुसार जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरिएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो। सुनुवाइपछि अदालतले आदेश दिएको छ कि यस सम्बन्धी अन्तिम निर्णय सर्वोच्च अदालतको निर्णयपछि मात्रै हुनेछ।

महान्यायाधिवक्ताको निर्णयविरुद्ध युवराज पौडेल (युवराज सफल)ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सुनुवाइका क्रममा महान्यायाधिवक्ता भण्डारीले मुद्दा दर्तापछि थप प्रमाण भेटिएको र त्यसका आधारमा फिर्ता लिने निर्णय गरिएको उल्लेख गरेकी थिइन्।

यसै क्रममा सर्वोच्च अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको थियो। आदेश अनुसार प्रमाण पेस भएपछि सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ। लामिछानेविरुद्ध काठमाडौं, कास्की, चितवन, रुपन्देही लगायतका जिल्लामा मुद्दा दर्ता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *